काठमाडौं, फागुन २६ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको छ। प्राप्त अन्तिम परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रत्यक्षतर्फ अत्यधिक बहुमतसहित पहिलो दल बनेको हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जितेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमालेले ९ सिटमा मात्र विजय प्राप्त गरेको छ।
निर्वाचनअघि विभिन्न दलहरूलाई मिलाएर बनेको नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जित्दै चौथो स्थानमा चित्त बुझाउनु परेको छ।
त्यस्तै, निर्वाचनअघि मात्रै गठन भएको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ। हर्क साम्पाङ नेतृत्वको उक्त पार्टीले विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा प्रभाव देखाउँदै राष्ट्रिय दलको मान्यता सहित आफ्नो उपस्थिति बलियो बनाएको छ।
यस पटकको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने निकै कमजोर देखिएको छ। राजावादी दलका रूपमा चिनिने राप्रपाले प्रत्यक्षतर्फ जम्मा एक सिट मात्र जित्न सफल भएको छ।
यसैबीच, म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन ‘त्रिभुज’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ।
उता समानुपातिकतर्फको मतगणना भने अझै जारी रहेको छ। हालसम्मको प्रारम्भिक मतपरिणामअनुसार समानुपातिकतर्फ पनि रास्वपाले झण्डै ५० प्रतिशत मत प्राप्त गर्दै अग्रता कायम राखेको देखिएको छ।
मत परिणामले नयाँ राजनीतिक शक्ति उदाएको संकेत दिएको भन्दै विश्लेषकहरूले यसलाई नेपालको समकालीन राजनीतिमा महत्वपूर्ण मोडका रूपमा टिप्पणी गरेका छन्। समानुपातिकतर्फको अन्तिम परिणाम सार्वजनिक भएपछि प्रतिनिधि सभाको दलगत शक्ति सन्तुलन अझ स्पष्ट हुने छ। साे परिणामले रास्वपालई दुइतिहाइ बहुमत प्राप्त हुने नहुने स्पष्ट पार्ने छ ।













प्रतिक्रिया दिनुहोस्