काठमाडौं, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे सांसद निर्वाचित भइसक्दा पनि बालेन्द्र साह ‘बालेन’को रक्षा कवचकै रूपमा देखिनु भएको छ।
मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सांसद पाण्डेले रास्वपाले यसअघि नै बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको उल्लेख गर्दै पार्टीभित्र त्यस विषयमा दायाँबायाँ कुरा गर्ने छुट कसैलाई नभएको बताउनुभयो। उहाँले पार्टीका नेताहरूलाई अनावश्यक अभिव्यक्ति नदिन चेतावनी दिँदै कडा शब्दमा भन्नुभयो, ‘जे बोलिन्छ राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ,अनि, पनि, कमा, फुलिस्टप-राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन।’
रास्वपाका उपाध्यक्ष डिपी अर्यालले बालेन्द्र साहलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमति आफूले नपढेको प्रतिक्रिया सार्वजनिक गरे लगत्तै सांसद पाण्डेले यस्तो धारणा व्यक्त गर्नुभएको हो। उहाँ बालेनकाे पक्षमा रक्षा कबज बनेर उभिनु भएको छ ।
पाण्डे यसअघि काठमाडौं महानगरपालिकामा महानगर प्रहरी प्रमुखका रूपमा कार्यरत हुनुन्थ्यो। महानगर प्रमुखका रूपमा बालेन्द्र साहको कार्यकालमा उहाँ बालेनका बफादार सहयोगीका रूपमा चिनिनुहुन्थ्यो। सो क्रममा उहाँले उपप्रमुखसहित अन्य जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतसँग समेत विवादमा परेर बालेनको पक्षमा उभिनु भएको थियो ।
पत्रकारहरूसँगको कुराकानीमा सांसद पाण्डेले अबको प्रधानमन्त्री बालेन्द्र साह नै हुने दाबी समेत गर्नुभयो। ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र साह नै हुनुहुन्छ,’ उहाँले भन्नुभयो।
सांसद पाण्डेको यो अभिव्यक्ति रास्वपा भित्र नेतृत्व र भावी सरकार गठनबारे भइरहेका चर्चाबिच सार्वजनिक भएको हो। यसले सरकार नबन्दै पार्टीमा विवाद देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्