काठमाडौं, फागुन २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगन थापालाई खुल्ला पत्र लेख्दै कठिन राजनीतिक घडीमा नेतृत्वबाट पछि नहट्न र पार्टीलाई रूपान्तरण गर्ने यात्रामा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ।
श्रेष्ठले सार्वजनिक गरेको पत्रमा हालै सम्पन्न संघीय संसद्को निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासन सुदृढीकरण र राजनीतिक स्थिरता कायम गर्नु नै मुख्य लक्ष्य हुनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले देश फेरि लयमा फर्कन थालेको भन्दै यस प्रक्रियामा थापाको नेतृत्वले पार्टी कार्यकर्ता र समर्थकलाई आशा र दिशा दिएको उल्लेख गर्नुभएको छ।
पत्रमा श्रेष्ठले निर्वाचन परिणामलाई केवल हार–जितको रूपमा मात्र नहेरी पार्टी रूपान्तरणको सन्देशका रूपमा ग्रहण गर्नुपर्ने बताउनुभएको छ। उहाँका अनुसार निर्वाचनले नेपाली कांग्रेसलाई समयानुकूल परिवर्तन हुन, युवाहरूको आकाङ्क्षा बुझ्न र सङ्गठनात्मक संरचना पुनः सुदृढ गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ। श्रेष्ठले लेख्नुभएको छ, ‘यो परिणाम केवल नेतृत्वको असफलता मात्र होइन, जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपमा रूपान्तरण गर्न नसकिएको चेतावनी पनि हो।’
उहाँले अब पार्टीले निर्वाचनबाट प्राप्त सिकाइलाई आत्मसात गर्दै वडा तहदेखि केन्द्रसम्म संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ। श्रेष्ठले कांग्रेसको सङ्गठनात्मक संरचना पुनःगठन र सक्रियता बढाउनुपर्ने आवश्यकता औँल्याउँदै वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठनलाई बलियो बनाउने अभियान सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले कांग्रेसको शक्ति संगठन र कार्यकर्ताको एकतामा निहित रहेको उल्लेख गर्नुभएको छ।
पत्रमा उहाँले वर्तमान परिस्थिति पार्टीका लागि चुनौतीपूर्ण भए पनि यही चुनौतीलाई अवसरका रूपमा उपयोग गरेर सङ्गठनात्मक पुनर्जागरण सम्भव रहेको बताउनुभएको छ। ‘निर्वाचनले देखाएको सन्देशलाई आत्मसात गर्दै कांग्रेसले आफूलाई समयसापेक्ष बनाउन सकेमा जनताको विश्वास पुनः मजबुत बनाउन सकिन्छ,’ श्रेष्ठले लेख्नुभएको छ।
श्रेष्ठले पत्रमार्फत थापाको नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँले देखाएको साहस, दृष्टि र युवाहरूलाई प्रेरित गर्ने क्षमताले पार्टीभित्र नयाँ ऊर्जा सिर्जना गरेको उल्लेख गर्नुभएको छ। उहाँले कठिन परिस्थितिमा नेतृत्वबाट पछि हट्नु वा राजनीतिबाट अलग हुने निर्णय गर्नु पार्टी र देश दुवैका लागि हितकर नहुने स्पष्ट धारणा व्यक्त गर्नुभएको छ। श्रेष्ठले पत्रमा लेख्नुभएको छ, ‘ यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईँलाई साथ दिनु आवश्यक छ, तपाईँको नेतृत्वमा हामीले नयाँ ऊर्जा, नयाँ आशा, र नयाँ रूपान्तरणको बाटो देखिरहेका छौँ ’
उहाँले थापाको नेतृत्वमा कांग्रेसले नयाँ ऊर्जा, नयाँ आशा र रूपान्तरणको सम्भावना देखिरहेको पनि उल्लेख गर्नुभएको छ। श्रेष्ठले पार्टीभित्र एकता र ऐक्यबद्धताको आवश्यकता औँल्याउँदै अहिलेको समय व्यक्तिगत असन्तुष्टि भन्दा पनि सामूहिक जिम्मेवारी निर्वाह गर्ने समय भएको उल्लेख गर्नुभएको छ।
उहाँले सङ्कटको घडीमा थापाप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै सबै कांग्रेसी मिलेर पार्टी रूपान्तरणको यात्रामा अघि बढ्ने प्रतिज्ञा गर्नुभएको छ। ‘यस सङ्कटको घडीमा तपाईँलाई पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै हामी सबै मिलेर नेपाली कांग्रेसलाई रूपान्तरण गर्ने यात्रामा अगाडि बढ्ने प्रतिज्ञा गर्दछौँ,’ पत्रमा भनिएको छ।













प्रतिक्रिया दिनुहोस्