जनता टाइम्स

२७ फाल्गुन २०८२, बुधबार १०:१६

भरुवा बन्दुक पड्किँदा डडेल्धुरामा किशोरको मृत्यु


काठमाडौं, फागुन २७। डडेल्धुरामा भरुवा बन्दुक समातेर तस्वीर खिच्ने क्रममा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।

परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर तस्वीर खिच्ने क्रममा बन्दुक पड्किँदा १७ वर्षीय सुवास महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुई किशोरले बन्दुक समातेर तस्वीर खिच्ने क्रममा घटना भएको हो।

बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा दिदी जानकी बोहराको घरमा बस्दै आउनुभएको थियो। बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडीको शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।