काठमाडौं, फागुन २७। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई पोखरा महानगरपालिकाले फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुस्तक बिक्रीलाई व्यवस्थित बनाउन पुस्तक व्यवसायी महासंघमार्फत सहकार्य गर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मेयर आचार्यले पुनलाई निर्वाचनमा अत्यधिक मतसहित विजयी हुनुभएकोमा बधाई दिँदै उहाँको नवप्रवर्तन र अनुसन्धान अभियानप्रति सम्मान व्यक्त गर्नुभएको छ।
मेयर आचार्यले पुनले अनुसन्धान र नवप्रवर्तनका लागि देशभर घुमेर पुस्तक बिक्री गर्दै जनसमर्थन जुटाइरहनुभएको कार्य सराहनीय भएको उल्लेख गर्नुभएको छ। तर आवश्यक दर्ता वा अनुमति बिना सार्वजनिक स्थानमा पुस्तक बिक्री–वितरण गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने उहाँले बताउनुभएको छ।
उहाँका अनुसार पछिल्ला दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता हुने तथा अनावश्यक विवादसमेत सिर्जना भएको देखिएको छ। यस्तो अवस्था पुन जस्तो सम्मानित सार्वजनिक व्यक्तित्वका लागि उपयुक्त नहुने उहाँले बताउनुभएको छ।
आचार्यले देशभर करिब १८ हजार पुस्तक व्यवसायी दर्ता भई पुस्तक बिक्री–वितरणमा संलग्न रहेको उल्लेख गर्दै महासंघमार्फत पुनलाई उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्रीमा सहयोग गर्न सकिने बताउनुभएको छ। ‘यदि तपाईं पोखरा आउने समय दिनुहुन्छ भने, पुस्तक व्यवसायी महासंघमार्फत उपयुक्त स्थान उपलब्ध गराई पुस्तक बिक्री–वितरणमा सहजीकरण गर्न सकिन्छ,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
त्यसैगरी, मेयर आचार्यले हालसम्म कति पुस्तक बिक्री भएको भन्ने विवरण सार्वजनिक गर्न सके पारदर्शिता बढ्नुका साथै करसम्बन्धी सम्भावित प्रश्नहरू समाधान गर्न पनि सहज हुने बताउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्