जनता टाइम्स

२७ फाल्गुन २०८२, बुधबार ११:०७

नीति र नेतृत्वसम्बन्धी बहस बाहिर सार्वजनिक गर्नु जरुरी छैन, निर्वाचनको समीक्षा पार्टीभित्रै हुन्छ : लेखराज भट्ट


काठमाडौं, फागुन २७।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनको समीक्षा पार्टी कमिटीभित्रै गरिने बताउनुभएको छ। उहाँले नीति र नेतृत्वसम्बन्धी बहस बाहिर सार्वजनिक गर्नु उपयुक्त नहुने स्पष्ट पार्नुभएको छ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले नीति र नेतृत्वको विषयमा बहस हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीको आन्तरिक संरचनामार्फत उठाइनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार कमिटी प्रणालीभित्रै धारणा राखेर नेतृत्व, नीति, विचार र सिद्धान्तबारे गहिरो समीक्षा गरिनेछ।

भट्टले निर्वाचन परिणामबारे पार्टीको सचिवालय बैठकमा विस्तृत समीक्षा हुने बताउनुभएकाे छ । उहाँले सामूहिक छलफलपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने बताउनुभयो।

उहाँले जनताले दिएको जनादेशलाई स्वीकार गर्दै पार्टी अब नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै पार्टीले गरेका कामहरू जनतामाझ प्रभावकारी रूपमा लैजान नसकेको तथ्य पनि स्वीकार गर्नुभयो।

भट्टले भदौ २३ र २४ गते भएका घटनाबारे जनतालाई पर्याप्त रूपमा जानकारी गराउन नसकिएको उल्लेख गर्दै ती घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले पार्टीभित्र देखिएको आन्तरिक मतभेद, संगठन परिचालनमा कमजोरी तथा अनुशासनहीनताले पनि निर्वाचन परिणाममा असर परेको बताउनुभयो। उहाँका अनुसार संगठनहरू अपेक्षाअनुसार परिचालित हुन नसक्नु, आन्तरिक पंक्तिमा अनुशासन कमजोर हुनु तथा अराजकता बढ्नुले परिणाममा प्रभाव पारेको हो।

त्यसैगरी केही गलत प्रतिवेदन तथा सूचनाका कारण पनि समस्या भएको उहाँको भनाइ छ। विद्यालयका केही शिक्षकहरूले विद्यार्थीहरूलाई चुनावी प्रचारमा प्रयोग गरेको विषयप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।

कैलाली क्षेत्र नम्बर ४ बाट एमालेका उम्मेदवार रहनुभएका भट्टले विगतमा सुरु गरिएका विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आफूलाई विश्वास गरेर मत दिने मतदाताप्रति उहाँले आभार पनि व्यक्त गर्नुभयो ।