जनता टाइम्स

२७ फाल्गुन २०८२, बुधबार १३:२६

नेकपामा मेरो विद्रोह दीर्घकालीन अन्यायकाे विरुद्ध थियो : हरिबोल गजुरेल 


सिन्धुली, फागुन २७ । विद्रोही उम्मेदवारको पक्षमा उभिएको भन्दै नेकपाले कारबाही गरेका नेता हरिबोल गजुरेलले नेतृत्वद्वारा गरिएको निर्णयविरुद्ध आफूले उठाएको प्रतिरोधलाई वैचारिक र संगठनात्मक विद्रोहको रूपमा वर्णन गर्नु भएको छ ।

उहाँले आफूले उठाएको कदम आवेगको परिणाम नभई परिस्थितिले अनिवार्य बनाएको कर्तव्य पालन भएको स्पष्ट पार्नु भएको छ । ‘पार्टीभित्र होस् वा बाहिर, संघर्षका आफ्नै नियम हुन्छन्, लडाइँको मैदानमा जस्तै, राजनीतिमा पनि रणनीति, कार्यनीति, धैर्य र समयको मूल्य अत्यन्त महत्त्वपूर्ण हुन्छ, विपक्षीले फायर खोल्दा आफ्नो तयारी अपर्याप्त छ भने पछि हट्नु कमजोरी होइन; तर पछाडि भीर र अगाडि चट्टानजस्तो परिस्थिति आएमा प्रतिफायर नगर्नु केवल कायरता होइन, आत्मसमर्पण हो’, उहाँले भन्नुभयो ।

गजुरेलले पार्टी नेतृत्वद्वारा अपनाइएको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रह स्वीकार गरेको उल्लेख गर्दै भन्नुभएको छ, ‘जनवादी क्रान्तिको आधारभूमि रोल्पा बनेजस्तै, समाजवादी क्रान्तिको सम्भावित आधारभूमि बन्ने सङ्केत देखिएको सिन्धुली जिल्ला पार्टीको शिर उच्चो राख्न साथ दिनु मेरो कर्तव्य हो, यस निर्णयप्रति मलाई कुनै पश्चात्ताप छैन,बरु गर्व छ।’

उहाँले आफ्नो कदमलाई व्यक्तिगत प्रतिवाद नभई विचार, नीति, संगठन, कार्यशैली र आचरणसँग जोडिएको विद्रोह भएको स्पष्ट पारेका छन्। उहाँले भन्नुभएको छ, ‘आजको डिजिटल युगमा सामाजिक सञ्जालमार्फत अभिव्यक्त भइरहेको जेन–जी आन्दोलनमा पनि यस्तै प्रवृत्ति देखिन्छ,जहाँ दीर्घकालीन असन्तोषले सानो कारणलाई आन्दोलनको चिंगारी बनाइदिन्छ।’

गजुरेलले नेतृत्व परिवर्तनको सम्भावित सङ्केतको रूपमा आफ्नो प्रतिरोधलाई औँल्याउँदै भन्नुभएको छ, ‘इतिहासले बारम्बार प्रमाणित गरेको छ-अन्याय सहनेहरूले परिवर्तन ल्याउन सक्दैनन्,परिवर्तन सधैँ त्यहीँबाट सुरु हुन्छ, जहाँ अन्यायको विरुद्ध पहिलो साहसी आवाज उठ्छ।’

उहाँले पार्टीभित्रको विद्रोहलाई आगामी महाधिवेशनसम्म नेतृत्वको रूपान्तरणका लागि उठाइएको कदमको निरन्तरता पनि भएको बताउँदै, ‘महाधिवेशनअघि टकराब सिर्जना गर्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पार्नु भएको छ। तर संघीय संसद्को टिकट वितरणमा नेतृत्वले अपनाएको अनैतिक, अपारदर्शी र भद्दा तरिकाले परिस्थितिलाई नयाँ मोडमा पुर्‍याएको उहाँको भनाई । ‘जब कि प्रतिरोध गर, कि मरको अवस्था सिर्जना हुन्छ, त्यतिबेला मौन बस्नु केवल निष्क्रियता होइन,त्यो अन्यायको मौन समर्थन हो’, उहाँले भन्नुभएको छ ।

उहाँले आफ्नो कदमलाई पार्टीको मूल्य, विधि–पद्धति र राजनीतिक नैतिकताको पक्षमा उभिएको विद्रोह भएको बताउनुभएको छ । सो विद्रोह दीर्घकालीन अन्यायको विरुद्ध उठाएको आवाजको रूपमा उहाँले व्याख्या गर्नु भएको छ ।

उहाँ सिन्धुली क्षेत्र नं २ मा पार्टीका आधिकारिक उम्मेदवार लेखनाथ दाहालको विरुद्ध उठ्नु भएका महेश्वर दाहालको पक्षमा उभिएर चुनावी प्रचार अभियानमा लाग्नु भएको थियो ।