जनता टाइम्स

२७ फाल्गुन २०८२, बुधबार १६:४६

रास्वपाको सरकार बन्ने निश्चित भएकै दिन कैद छुट पाएर जेलमुक्त भए दीपक मनाङे


काठमाडौं, फागुन २७ । गण्डकी प्रदेशका पूर्वकन्त्री तथा पूर्वसांसद दीपक मनाङेको नामले परिचित राजीव गुरुङ कारागारमुक्त हुनुभएको छ । अदालतले तोकेको कैद सजाय भुक्तान गरी मनाङे बुधवार कारागारमुक्त हुनुभएको हो ।

ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान हुनुभएको थियो । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकेर रास्वपाका बरिष्ठ नेता प्रधानमन्त्री बन्ने निश्चित भएकै दिन मनाङे पनि जेल सजाय भुक्तान गरेर छुटने संयोग परेको छ । मनाङेलोई २० प्रतिशत कैद छुट दिएर जेलमुक्त गरिएको हो । आचरणमा सुधार देखाएर कैद छुट दिइएको छ ।

गोर्खामा चुनाव लडेर पराजीत हुनुभएका चक्रे मिलन भनिने मिलन गुरुङमाथि विसं २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका मनाङेले कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेको डिल्लीबजार कारागारले जनाएको छ । मनाङेले पटक पटक गरेर दुई वर्ष आठ महिना कैद भुक्तान गरिसक्नुभएको थियो । मनाङेबिरुद्ध मिलन गुरुङकी पत्नीले प्रहरीमा उजुरी दिनुभएको थियो ।

उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसलापछि मनाङेले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाउनु भएको थियो तर सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उहाँ गण्डकीको सांसद पदमा बहाल रहँदै २०८१ कात्तिक २७ गते पक्राउ गरी कारागार चलान गरिएको थियो ।