जनता टाइम्स

२८ फाल्गुन २०८२, बिहीबार ०९:४०

मकवानपुरमा लागुऔषध सेवनकर्ताको बञ्चरो प्रहारबाट प्रहरी सहायक निरीक्षक घाइते, प्रहरीको गोली लागि बञ्चराे चलाउने पनि घाइते 


काठमाडौं, फागुन २८। मकवानपुरमा लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते हुनुभएको छ।

पदमपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली गस्तीमा रहेको समयमा गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङ घाइते हुनुभएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाएको थियो। उक्त गोली लागेर आक्रमणमा संलग्न हेटौँडा उपमहानगरपालिका–१२ हात्तीगौँडाका १९ वर्षीय एक युवक घाइते भएका छन्।

घाइते प्रहरी सहायक निरीक्षक तामाङ र आक्रमणमा संलग्न युवक दुवै जनाको हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा संलग्न थप दुई युवकलाई समेत पक्राउ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।