काठमाडौं, फागुन २८। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफूले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ। उहाँले लोकतान्त्रिक प्रणालीमा अन्तिम फैसला जनताकै हुने भएकाले जनताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताउनुभएको छ।
अध्यक्ष ओलीले निर्वाचनको परिणाम आफ्नो पार्टीको अपेक्षाअनुसार नआएको उल्लेख गर्दै जनताको मतलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको बताउनुभएको छ । उहाँले यस कठिन परिस्थितिमा पनि सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले मतदाताले देखाएको विश्वास नै पार्टीको शक्ति र साथ नै पार्टीको तागत भएको उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले निर्वाचनको परिणाम अनुकूल नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कुनै कमी नआएको स्पष्ट पार्नुभएकाे छ । उहाँले आगामी दिनमा पनि पार्टी जनताकै बिचमा रहेर जनताकै हितका लागि काम गर्दै जाने र जनतासँगको विश्वासको सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ओलीले मत दिएर, साथ दिएर र विश्वास प्रकट गरेर सहयोग गर्नुहुने सम्पूर्णप्रति हृदयदेखि आभार व्यक्त गर्नुभएको छ।
यस्तो छ ओलीको सन्देश :
दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु। यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईँहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईँहरूको साथ नै हाम्रो तागत हो। निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन। हामी जनताकै बिचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद।













प्रतिक्रिया दिनुहोस्