जनता टाइम्स

२८ फाल्गुन २०८२, बिहीबार २०:१४

प्रतिनिधि सभा निर्वाचनको मतगणना सम्पन्न, समानुपातिकतर्फ रास्वपालाई ५७ सिट


काठमाडौं, फागुन २८। निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सम्पन्न भएको मतगणनाको अन्तिम विवरण सार्वजनिक गरेको छ। आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण मतगणना कार्य सकिएको हो।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। सोही आधारमा विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने कार्यसमेत सम्पन्न भएको आयोगले जनाएको छ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४को दफा ६० बमोजिम आयोगले सिट बाँडफाँटको निर्णय गरेको जनाएको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेकामा प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। तीमध्ये १ करोड ५ लाख ५९ हजार १७ (९४.५५ प्रतिशत) मत सदर भएको आयोगले जनाएको छ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ (९६.०५ प्रतिशत) मत सदर भएको आयोगले जानकारी दिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त कुल सदर मतका आधारमा निर्वाचन कानुनअनुसार तोकिएको तीन प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दललाई सिट निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगको निर्णयअनुसार समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या यसप्रकार रहेको छः

  • राष्ट्रिय स्वतन्त्र पार्टी — ५७ सिट
  • नेपाली कांग्रेस — २० सिट
  • नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) — १६ सिट
  • नेपाली कम्युनिष्ट पार्टी — ९ सिट
  • श्रम संस्कृति पार्टी — ४ सिट
  • राष्ट्रिय प्रजातन्त्र पार्टी — ४ सिट

आयोगका अनुसार उक्त सिट संख्याका आधारमा सम्बन्धित राजनीतिक दलहरूले आफ्नो बन्दसूचीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छनोट गर्नुपर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४को नियम ४१ तथा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०६२को दफा ३५ बमोजिम दलहरूले तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

यससम्बन्धमा सम्बन्धित राजनीतिक दलहरूलाई आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारको नामावली पेश गर्न आजै पत्राचार गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ।