काठमाडौं, फागुन २८। नागरिक सरकारले बिदा हुनै लाग्दा नागरिकलाई आधा सिलिण्डर ग्यास उपहार दिएर जाने भएकाे छ । बजार व्यवस्थापन गर्न नसक्दा सरकारले अब आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेकाे हाे ।
नेपाल आयल निगम लिमिटेडले एलपी ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ। निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मिति भाेलिबाट अर्को निर्णय नभएसम्म प्रत्येक सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ।
निगमका अनुसार नियमित रूपमा मागअनुसार एलपी ग्यास आयात तथा वितरण भइरहेको भए पनि विगत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग असामान्य रूपमा बढेको देखिएको छ।
मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परेको निगमले जनाएको छ। नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्ताले ग्यास प्राप्त गर्न कठिनाइ भोग्न थालेको विषय विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित भएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमको भनाइ छ।
यही अवस्थालाई ध्यानमा राख्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै सबै उपभोक्तासम्म ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको निगमले जनाएको छ। नयाँ व्यवस्थाअनुसार ७.१ केजी ग्यास भरिएको सिलिण्डर रु. ९५५ मा बिक्री गरिनेछ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न तथा आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। यस निर्णयबाट बजारमा सम्भावित अभावलाई व्यवस्थापन गर्दै ग्यासको वितरणलाई सहज बनाउन सहयोग पुग्ने निगमको विश्वास रहेको छ।














प्रतिक्रिया दिनुहोस्