काठमाडौं, फागुन २८। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) का महासचिव शंकर पोखरेलले आमनिर्वाचन–२०८२ को परिणाम अपेक्षाअनुसार सुखद नभएको बताउँदै पार्टीलाई एकताबद्ध भएर चुनौती सामना गर्न आग्रह गर्नुभएको छ।
पोखरेलले निर्वाचनको परिणामपछि प्रतिक्रिया जनाउँदै १६५ वटै निर्वाचन क्षेत्रको परिणामको समीक्षा कार्य सुरु भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त प्रक्रिया सम्पन्न भएपछि आम निर्वाचन–२०८२ को समग्र समीक्षा गरिनेछ।
महासचिव पोखरेलले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही सञ्चार माध्यममार्फत नेताहरूको नाम जोडेर भइरहेको ‘मिडिया ट्रायल’ र फैलाइएका भ्रममा नपर्न पार्टीका सम्पूर्ण कार्यकर्ता तथा समर्थकलाई आग्रह गर्नुभएको छ।
उहाँले विगतमा पनि गम्भीर संकट र चुनौतीहरूको सामना गर्दै एमाले यहाँसम्म आइपुगेको उल्लेख गर्दै अहिले देखिएका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै पार्टी अझ मजबुत भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
महासचिव पोखरेलले जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्न विशेष जोड दिनुपर्ने बताउँदै आवश्यक सुधारका काम संस्थागत रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो।
उहाँले सबै नेता–कार्यकर्ता एकताबद्ध भएर काम गरे पार्टी आगामी दिनमा अझ सफल हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्