जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार ०८:३८

समानुपातिक सांसद बारे  पार्टीमा‘रोइलो’ नगर्न हर्क साम्पाङको आग्रह, विवाद गर्नेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी 


काठमाडौं, फागुन २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक प्रतिनिधित्वको विषयमा अनावश्यक विवाद र ‘रोइलो’ नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै समानुपातिकको विषयलाई लिएर पार्टीभित्र अनावश्यक दबाब र आलोचना नगर्न आग्रह गर्नुभयो । अध्यक्ष साम्पाङले चेतावनीपूर्ण शैलीमा भन्नुभयो, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भयो ।’

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको छ । उक्त मतका आधारमा पार्टीले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार सिट सुरक्षित गरेको छ ।

निर्वाचन आयोगमा पार्टीले ११० जनाको समानुपातिक उम्मेदवार सूची पेश गरेको थियो । प्रत्यक्षतर्फ भने पार्टीले तीन सिट जितेको छ, जसमा सबै पुरुष उम्मेदवार विजयी भएका छन् ।

प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट प्राप्त सिट जोड्दा श्रम संस्कृति पार्टीको प्रतिनिधिसभामा कुल सात सांसद हुने देखिएको छ ।

संविधान तथा निर्वाचन व्यवस्थाअनुसार दलहरूले आफ्नो संसदीय दलमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ । प्रत्यक्षतर्फ तीनै जना पुरुष निर्वाचित भएकाले समानुपातिकबाट कम्तीमा दुई जना महिला सांसद पठाउनुपर्ने अवस्था देखिएको छ ।

यसका साथै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूले महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्र लगायतका क्लस्टरसमेत मिलाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । त्यसैले श्रम संस्कृति पार्टीले समानुपातिक सूचीबाट सांसद चयन गर्दा यी समावेशी आधारहरू मिलाएर निर्णय गर्नुपर्ने छ ।