जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार १२:१९

रोकियो काठमाडौंको फोहोर, नागरिक सरकारले पनि गरेन प्रतिबद्धता पूरा


काठमाडौं, फागुन २९ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पुनः प्रभावित भएको छ। नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेका छन्।

राजधानीको फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै फोहोर बोकेर पुगेका गाडीलाई फिर्ता पठाएका हुन्। स्थानीयका अनुसार काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमतिहरू अहिलेसम्म कार्यान्वयन नभएकाले फोहोर फाल्न नदिने निर्णय गरिएको हो। सरकार र महानगरपालिकाले गरेका सहमति पूरा नगरेसम्म फोहोर फाल्न नदिने उनीहरुकाे भनाइ छ । त्यसका कारण बिहीबार बिहानैदेखि फोहोर बोकेर गएका गाडीहरू बञ्चरेडाँडाबाट फर्काइएका छन्।

यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि केही समयका लागि फोहोर विसर्जनमा देखिएको अवरोध हटेको थियो। तर ती सहमतिहरू कार्यान्वयन नभएको भन्दै स्थानीयले पुनः विरोध सुरु गरेका हुन्।

फोहोर विसर्जन रोक्न नुवाकोटको ककनी गाउँपालिकाका वडा नं. १, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिकाका वडा नं. १, ३ र ४ का प्रभावित स्थानीय सडकमा उत्रिएका छन्। उनीहरूले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा धर्ना दिँदै फोहोर बोकेका गाडीहरू रोकेका हुन्।

स्थानीय जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका नेताहरूले पनि प्रभावित बासिन्दाको मागप्रति समर्थन जनाएका छन्। उनीहरूले सरकारले विगतमा गरेका सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।

फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फोहोर थुप्रिने समस्या फेरि बढ्ने देखिएकाे छ । राजधानीमा दैनिक हजारौँ टन फोहोर उत्पादन हुने भएकाले बञ्चरेडाँडामा अवरोध हुँदा उपत्यकाको सरसफाइ व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने छ।