काठमाडौं, फागुन २९ । नेकपा एमाले धनकुटाले चुनावमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ।
एमाले धनकुटा जिल्ला कमिटीको बैठकले राईलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्ने निर्णय गरेको हो।
जिल्ला अध्यक्ष शिव आङ्लाका अनुसार उपाध्यक्ष राई लामो समयदेखि पार्टीको सम्पर्कमा नरहनुका साथै पटक–पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि बेवास्ता गरेपछि कारबाही गरिएको हो। पार्टीका अनुसार उहाँले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गर्दै अन्तर्घात गरेको पाइएको छ। उक्त विषयमा छानबिन गर्न भीम राईको संयोजकत्वमा गठित समितिले अध्ययनपछि कारबाही सिफारिस गरेको थियो।
उपाध्यक्ष राईले निर्वाचनका बेला नेपाली कांग्रेसका उम्मेदवारका पक्षमा मत मागेको प्रमाण फेला परेको एमालेले जनाएको छ।
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका राजेन्द्रकुमार राई पुनः निर्वाचित हुनुभएको छ। जिल्ला कमिटीले पार्टी अनुशासनविरुद्ध गतिविधि गर्ने जो–कोहीमाथि आवश्यक कारबाही गरिने पनि जनाएको छ।













प्रतिक्रिया दिनुहोस्