रामेछाप, फागुन २९ । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ। गाउँमा पहिलो पटक बस सेवा पुगेपछि स्थानीयले पूजा गरेर भव्य स्वागत गरेका छन्।
स्थानीयले तामाङ संस्कारअनुसार बसको पूजा गर्दै चालक, सहचालक तथा जनप्रतिनिधिहरूलाई स्वागत गरेका थिए। लामो समयदेखि सडक बने पनि नियमित सवारी साधन नपुग्दा यहाँका बासिन्दा यातायात सुविधाबाट वञ्चित रहँदै आएका थिए।
यसअघि उमाकुण्ड–५ को नासपातीघारीसम्म मात्र बस सेवा सञ्चालन हुँदै आएको थियो। अब भने बाहुनीडाँडा र जिदु हुँदै उर्माखुसम्म बस पुग्ने व्यवस्था गरिएको नेपाल अरनिको यातायात सेवा प्रा.लि. रामेछापका प्रमुख सुवास फुँयालले जानकारी दिनुभयो।
बस उर्माखुसम्म पुगेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई धन्यवाद दिँदै बाह्रै महिना यातायात सञ्चालन हुने गरी सडक निर्माण र स्तरोन्नति गर्न माग गरेका छन्।
उमाकुण्ड गाउँपालिका–५ का वडा अध्यक्ष कुलबहादुर बस्नेतका अनुसार यसअघि सो क्षेत्रका बासिन्दाले बस चढ्न एक घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था थियो। अब गाउँमै बस सेवा पुगेपछि स्थानीयलाई ठूलो राहत मिलेको उहाँले बताउनुभयो। वडा अध्यक्ष बस्नेतले बाह्रै महिना बस सञ्चालन गर्न सकिने गरी सडक स्तरोन्नति गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
सडक सहज बने सो रुटमा नियमित बस सेवा सञ्चालन गर्ने योजना रहेको समितिका प्रमुख फुँयालले जानकारी दिनुभयो। गाउँसम्म बस पुगेपछि सर्वसाधारणलाई सहज भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्