जनता टाइम्स

२९ फाल्गुन २०८२, शुक्रबार २०:२९

केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति बालेन साहको समवेदना


काठमाडौं, फागुन २९। रास्वपाका वरिष्ठ नेता बालेन साहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत समवेदना सन्देश जारी गर्दै साहले पिताको स्थान जीवनमा अतुलनीय हुने उल्लेख गर्नुभएको छ। उहाँले संस्कृत श्लोक उद्धृत गर्दै लेख्नुभएको छ, ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥’

उहाँले पिताजस्तो रक्षक, पिताजस्तो गुरु र पिताजस्तो देवता कोही नहुने भन्दै पिताको भूमिका जीवनमा अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ। ‘पात्र एक, भूमिका अनेक’ भन्दै साहले पिताले परिवार र जीवनमा विभिन्न जिम्मेवारी निभाउने उल्लेख गर्नुभएको छ।

साहले केही समयअघि आफूले पनि पिता गुमाएकाले पिताको अनुपस्थितिले जीवनमा कति रित्तोपन र अपूरणीय अभाव ल्याउँछ भन्ने अनुभूति आफूलाई भएको उल्लेख गर्नुभएको छ।

मेयर साहले केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गर्दै दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै उहाँले दिवंगत आत्माको वैकुण्ठवासको कामना समेत गर्नुभएको छ।