काठमाडौं, फागुन ३० । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम तथा विभिन्न राजनीतिक घटनाक्रम जनतामाझ स्पष्ट रूपमा पुर्याउन नसक्दा निर्वाचनमा पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेको छ।
शनिबार अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै पार्टी सचिव लेखराज भट्टले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्दा जनमत प्रतिकूल गएको बताउनुभयो।
उहाँका अनुसार भदौ २३ र २४ गतेका घटनासहित पार्टी नेतृत्वमाथि भएको आक्रमण तथा त्यसमा पार्टीको भूमिका जनतामाझ स्पष्ट पार्न नसक्दा मतदातामा भ्रम सिर्जना भएको बुझाइ बैठकमा व्यक्त गरिएको थियो।
सचिव भट्टले भन्नुभयो, “हामीले गरेका काम जनतासम्म प्रभावकारी रूपमा पुर्याउन सकेनौँ। भदौ २३ गतेको घटनाबारे पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्यो। ती घटनामा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।”
उहाँका अनुसार एमाले र पार्टी नेतृत्वविरुद्ध विभिन्न आरोप र आलोचनाको भाष्य निर्माण भएको थियो। त्यसलाई तथ्यका आधारमा स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत बनेको निष्कर्ष बैठकले निकालेको बताउनुभयो।
उहाँले भन्नुभयो, “एमाले र नेतृत्वप्रति आक्रमण भयो, तर त्यो कुरा जनताबीच प्रभावकारी रूपमा बुझाउन सकेनौँ। त्यसले भ्रम पैदा गर्यो र त्यही भाष्यले हाम्रो विपक्षमा जनमत निर्माण भयो भन्ने बुझाइ बनेको छ।”
यसैबीच, पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा सचिव भट्टले आफूलाई त्यस्तो कुनै विवादबारे जानकारी नभएको बताउनुभयो। “म त भर्खरै हिजो राति मात्रै आएको हुँ, कहाँ आरोप–प्रत्यारोप भयो भन्नेबारे मैले बुझ्न पाएको छैन,” उहाँले भन्नुभयो।













प्रतिक्रिया दिनुहोस्