काठमाडौं, फागुन ३०। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचन परिणामपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) पङ्क्तिमा देखिएको अन्यौलता र निराशा स्वाभाविक भए पनि धैर्य, आत्मसमीक्षा र सामूहिक निर्णयमार्फत पार्टीलाई पुनः सशक्त बनाउने तयारी गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उहाँले प्रतिकूल परिणामपछि कार्यकर्तामा देखिएको प्रतिक्रिया अस्वाभाविक नभएको बताउनुभएको छ । तर यस्तो अवस्थामा भावनामा बग्नेभन्दा विवेकपूर्ण ढङ्गले समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले यस पटकको परिणामलाई एमालेका लागि इतिहासकै गम्भीर धक्कामध्ये एकका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । “हामीले व्यहोरेको धक्का इतिहासकै गम्भीरतम मध्येको हो,” उहाँले भन्नुभएको छ ।
ज्ञवालीका अनुसार एमाले अत्यन्त असहज परिस्थितिमा निर्वाचनमा सहभागी भएको थियो । उहाँले पार्टीका दर्जनौँ कार्यालय ध्वस्त पारिएको, सयौँ नेता–कार्यकर्ताका घरमा आगजनी भएको, पार्टी अध्यक्षमाथि प्रतिबन्धजस्तो अवस्था सिर्जना गरिएको र कार्यक्रमहरूमा बारम्बार धम्की तथा अवरोध गरिएको अवस्थाबिच निर्वाचनमा होमिनु आफैँमा ठुलो साहस भएको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार यस्तो कठिन परिस्थितिमा पनि एमालेले लोकतन्त्रप्रतिको निष्ठा र जनतामाथिको भरोसाका साथ निर्वाचनमा भाग लिएको थियो । उत्कृष्ट परिणामको अपेक्षा नगरे पनि यस्तो स्तरको धक्का आउने अनुमान भने नगरेको उहाँले बताउनुभएको छ ।
निर्वाचन परिणामका कारणहरू बहुआयामिक रहेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार यसमा आन्तरिक र बाह्य दुवै कारण रहेका छन् । केही कारण समयमै सच्याउन सकिने भए पनि केही भने परिस्थितिको नियन्त्रणभन्दा बाहिरका पनि हुनसक्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले नीतिगत, संरचनागत, कार्यशैलीगत तथा नेतृत्व र व्यक्तिका भूमिकासँग सम्बन्धित कारणहरूको समेत गहन समीक्षा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ,” उहाँले भन्नुभएको छ ।
ज्ञवालीका अनुसार समीक्षा नगरी समस्यालाई सामान्य ठान्ने वा अरूमाथि मात्रै दोषारोपण गर्ने प्रवृत्तिले सङ्कट अझ गहिरिने खतरा हुन्छ । त्यसैले सत्यतथ्यमा आधारित समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले अहिलेको परिणामलाई एमाले वा कम्युनिष्ट आन्दोलनको मात्रै नभई समग्र लोकतान्त्रिक आन्दोलनमाथिकै सङ्कटका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सुधारका विभिन्न विकल्प रोजेका अन्य राजनीतिक शक्तिहरूले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै उहाँले वर्तमान परिणामलाई फराकिलो राजनीतिक सन्दर्भमा विश्लेषण गर्नुपर्ने बताउनुभयो ।
ज्ञवालीले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा तर्कसङ्गत विश्लेषण आवश्यक हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार मतदाताको ठुलो हिस्साले आफूहरूले असत्य र भ्रम ठानेका विषयलाई सत्यका रूपमा स्वीकार गरेको अवस्था देखिएको छ ।
विशेष गरी नयाँ पुस्तासँग पर्याप्त संवाद स्थापित गर्न नसकिएको र विश्वासको सम्बन्ध बलियो बनाउन नसकिएको उहाँले स्वीकार गर्नुभएको छ । उहाँका अनुसार भ्रम र सत्यबिचको वास्तविकता स्पष्ट हुन समय लाग्न सक्छ । त्यसैले धैर्य राख्दै सत्य स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
उहाँले धैर्यका साथै निरन्तर संघर्ष आवश्यक हुने उल्लेख गर्दै कविताको एक अंश उद्धृत गर्नुभएको छ :
‘पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा,
पालुवा त्यसमा अर्कै त्यो वसन्त पलाउला ।’
उहाँले नेपालमा कम्युनिष्ट आन्दोलन ऐतिहासिक आवश्यकताबाट जन्मिएको उल्लेख गर्दै यसको जरा नेपाली समाजमा गहिरो रूपमा गाडिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनता, जनमुखी लोकतन्त्र, सामाजिक न्याय, सुरक्षा, समृद्धि र समानताका मुद्दा सधैँ सान्दर्भिक रहने उहाँको भनाइ छ ।
ज्ञवालीका अनुसार राजनीतिक आन्दोलनमा अस्थायी पराजय अन्त्य होइन, पुनः उठ्ने तयारीको अवसर हो । “ढल्नु भनेको सकिनु होइन, फेरि उठ्नका लागि तयारी थाल्नु हो,” उहाँले उल्लेख गर्नुभएको छ ।
उहाँले पार्टी पङ्क्तिलाई समस्या र सङ्कटलाई सामूहिक रूपमा आत्मसात् गर्दै निर्मम आत्मसमीक्षा गर्न र त्यसका निष्कर्षका आधारमा उचित निर्णय गर्न आग्रह गर्नुभएको छ ।
साथै उहाँले सामूहिक निर्णय प्रक्रिया र जबाफदेहितालाई स्थापित गर्नुपर्नेमा जोड दिँदै आन्दोलनको हित र भविष्यलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्