जनता टाइम्स

१ चैत्र २०८२, आईतवार ०८:२४

समानुपातिक सांसदको नाम पठाउने निर्वाचन आयोगको समयसीमा आज सकिँदै, दलहरू अन्तिम गृहकार्यमा


काठमाडौं, चैत १ । समानुपातिक निर्वाचन प्रणालीतर्फ क्लस्टर मिलाएर बन्दसूचीअनुसार सांसदको नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदै छ ।

आयोगले समानुपातिकतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छनोट गरी पठाउन दलहरूलाई बिहीबार तीन दिनको समय दिएर पत्र पठाएको थियो । सोही समयसीमा भित्र नाम पठाउन विभिन्न दलहरू अन्तिम गृहकार्यमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरिसकेको छ । त्यसै गरी श्रम संस्कृति पार्टीले पनि चार जनाको नाम सार्वजनिक गरेको जनाएको छ । बाँकी दलहरूले आइतबार अन्तिम निर्णय गरेर आयोगमा नामावली पेस गर्ने तयारी गरेका छन् ।

समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू तथा मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा समावेश गरिएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने व्यवस्था रहेको छ । साथै दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

समानुपातिक सांसदको नाम टुङ्गो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सचिवालय बैठक बोलाएको छ । त्यस्तै नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आज बस्दैछ । नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।

समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका दलमध्ये प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६, नेपाली कम्युनिष्ट पार्टीले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन् ।