काठमाडौं, चैत १। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र फैलाइँदै आएको मिथ्या सूचना, दुष्प्रचार र घृणायुक्त अभिव्यक्ति रोक्न आग्रह गर्नुभएको छ ।
उहाँले यस्तो प्रवृत्तिले संगठनात्मक एकतालाई कमजोर बनाउने भन्दै जिम्मेवार ढङ्गले बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहनु भएकाले पार्टीका गतिविधि पनि सोही संवेदनशील अवस्थाबिच अघि बढिरहेको बताउनुभएकाे छ । अध्यक्ष ओली पितृशोकमा रहेकाले पार्टी सचिवालय बैठकको अध्यक्षता उहाँले नगर्नुभएको र उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको जानकारी सबैलाई रहेको उहाँको भनाइ छ ।
भट्टराईले यस्तो अवस्थामा पार्टीभित्र एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय हुने उल्लेख गर्नुभएकाे छ । उहाँका अनुसार पछिल्लो समय पार्टीका माथिल्लो तहका केही नेताबाट आफू लगायत अन्य केही नेताहरूमाथि अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भइरहेको छ ।
उहाँले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आइडी प्रयोग गरी दुष्प्रचार गर्ने गतिविधि पनि भइरहेको दाबी गर्नुभएकाे छ । यस्तो प्रवृत्तिले पार्टीभित्र अनावश्यक भ्रम फैलाउने र संगठनात्मक वातावरण बिगार्ने खतरा रहेको उहाँको भनाइ छ ।
भट्टराईले पार्टीको एकता जोगाउनु, संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्नु तथा गुमेको जनविश्वास पुनः आर्जन गर्नु अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लागि सबैभन्दा महत्त्वपूर्ण कार्यभार भएको उल्लेख गर्नुभएकाे छ ।
उहाँले यस्ताे विषयमा उपयुक्त समयमा स्थापित विधि र प्रक्रियाअनुसार तथ्य र तर्कका आधारमा छलफल र बहस गर्नुपर्ने आवश्यकता औंल्याउँदै सामाजिक सञ्जाल वा अनौपचारिक माध्यमबाट आरोप–प्रत्यारोप गर्नु पार्टीको हितमा नहुने स्पष्ट पार्नु भएकाे छ । भट्टराईले पार्टीपंक्तिलाई संयमित र जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्