पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तयारी गरिए पनि अन्ततः भर्चुअल रूपमा बैठक सञ्चालन गर्ने निर्णय गरिएको हो । भौतिक रूपमा बैठक बस्ने सूचना पाएर कार्यालय पुगेका केही नेताहरू भने बैठक भर्चुअल हुने जानकारी पाएपछि फर्किएको बताइएको छ ।
हाल स्वास्थ्य लाभ गरिरहनुभएका पार्टी सभापति रवि लामिछानेलाई निवासमै आराम गर्नुपर्ने भएकाले बैठक भर्चुअल माध्यमबाट सञ्चालन गर्न लागिएको जनाइएको छ । यद्यपि उहाँको निवासमै भौतिक रूपमा बैठक बस्न सकिने अवस्था हुँदाहुँदै भर्चुअल बैठक किन राखिएको भन्ने विषयमा विभिन्न जिज्ञासा पनि उठ्न थालेका छन् ।
केही नेताहरू एकै ठाउँमा बस्ने अवस्था नबनेको कारण भर्चुअल बैठक आयोजना गरिएको हो कि भन्ने आशङ्का पनि गरिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले पार्टी कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नेहरूको नामावली टुङ्गो लगाई आजै निर्वाचन आयोगमा बुझाउन बैठक बोलाइएको जानकारी दिनुभयो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट थप ५७ सिट प्राप्त गर्ने बताइएको छ । पार्टीले सोही सिटका लागि बन्दसूचीबाट अन्तिम नाम चयन गर्न सचिवालय बैठक बोलाएको हो ।













प्रतिक्रिया दिनुहोस्