जनता टाइम्स

१ चैत्र २०८२, आईतवार १९:३०

गौरीबहादुर आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय, ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस


काठमाडौं, चैत १ । मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनबारे गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णयहरू गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले जेनजी आन्दोलनका सम्बन्धमा गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिनुभयो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे जाँचबुझ गर्न सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो।

उक्त आयोगले आफ्नो प्रतिवेदन गत फागुन २४ गते नै सरकारलाई बुझाइसकेको छ। प्रतिवेदनको विषयमा विस्तृत जानकारी सोमबार सार्वजनिक गरिने गृहमन्त्री अर्यालले जानकारी दिनुभयो।

बैठकले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री अर्याललाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ। सो निर्णयअनुसार उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको हो।

यसैगरी, मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघमार्फत प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार ४ सय अमेरिकी डलर बराबरको अनुदान सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ। उक्त सहयोग वातावरणीय प्रभावले पारेकाे बाढी लगायतका विनास प्रभावित क्षेत्रकाे विभिन्न विकास तथा मानवीय कार्यक्रमका लागि प्रयोग गरिने जनाइएको छ।

त्यसैगरी बैठकले युद्धप्रभावित क्षेत्रहरूमा रहेका नेपालीहरूको उद्धार तथा सहायताका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ। सरकारले संकटग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक समन्वय र व्यवस्थापन गर्ने जनाएको छ।