जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १०:१०

रास्वपा सरकारकै निर्णय रास्वपाका सांसदद्वारा विरोध, निर्णय सच्याउन सागर ढकालको माग 


काठमाडौं, चैत २ । अघोषित रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको एकलौटी सरकारले गरेको निर्णयको सोही पार्टीका सांसदले विरोध जनाएका छन् ।

रास्वपाका नेताहरूले आमा भनेर पुकार्ने प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गरेको निर्णय सच्याउन सोही पार्टीका सांसदले आग्रह गर्नुभएको छ । रास्वपाका गुल्मी–१बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले सरकारले हिजो गरेको निर्णय खारेज गर्न माग गर्नु भएको छ ।

ढकालले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई निर्णय सच्याएर उदारता देखाउन आग्रह गर्नु भएको छ । ‘आमा, जतिसुकै ठुलो महामानव भए पनि गल्ती हुन्छन्, हजुरले देशलाई ठुलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ, जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ’, ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

कुनै विज्ञता वा अनुभवबिना प्रधानमन्त्रीको स्वकीय सचिव भएको आधारमा आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनयन गर्नु गलत भएको उहाँको धारणा छ । आफ्नै प्रमुख स्वकीय सचिवलाई बिना योग्यता प्रकृति संरक्षण कोषजस्तो जिम्मेवार निकायको नेतृत्व दिन नमिल्ने उहाँको धारणा छ । ‘न कुनै विज्ञता, न अनुभव—मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव, यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र ?’, ढकालले प्रश्न गर्नु भएको छ ।

ढकालले अब पनि नातावाद र कृपावादले देश नचल्ने बताउनुभएको छ । ‘हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ’, उहाँले लेख्नु भएको छ ।

मन्त्रिपरिषद् बैठकले हिजो मात्रै गृह मन्त्री ओमप्रकाश शर्मालाई समेत राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।