जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १०:४८

सुमना श्रेष्ठको प्रधानमन्त्री र रास्वपालाई प्रश्न : अरूले गरे नातावाद, आफूले गरे योगदानको कदर ?  


काठमाडौं, चैत २ । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले वर्तमान सरकार र आफूले छाडेको दल रास्वपाको राजनीतिक अभ्यासमाथि टिप्पणी गर्दै सार्वजनिक रूपमा प्रश्न उठाउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभएको टिप्पणीमा सरकार र राजनीतिक दलहरूले एउटै कामलाई आफ्नो अनुकूल व्याख्या गर्ने प्रवृत्तिप्रति कटाक्ष गर्नुभएको हो। उहाँले ‘अरूले गरे नातावाद, कृपावाद वा नेपोबेबी भनिने तर आफूहरूले गरे त्यसलाई योगदानको कदर भनेर व्याख्या गर्ने’ प्रवृत्ति बढेको उल्लेख गर्नुभएको छ।

त्यस्तै, अरूले गरे ‘भागबन्डा’ भनिने कामलाई आफूहरूले ‘जिम्मेवारी बाँडफाँड’ भनेर प्रस्तुत गर्ने शैली पनि राजनीतिक वृत्तमा देखिएको उहाँको टिप्पणी छ। उहाँका अनुसार अरूले गरे ‘नुनको सोझो’ वा ‘सेटिङ’ भनेर आरोप लगाइने तर आफूहरूले गरे त्यसलाई ‘पारस्परिक सम्बन्ध’ भन्ने भाष्य निर्माण हुने गरेको छ।

त्यस्तै, अरूले उठाएको विषयलाई ‘जे कुरामा पनि विरोध’ भनेर चित्रण गरिने तर आफूहरूले उठाएको प्रश्नलाई ‘मिहिन वा रचनात्मक खबरदारी’ भनेर व्याख्या गरिने प्रवृत्तिप्रति पनि उहाँले सङ्केत गर्नुभएको छ।

यसै सन्दर्भमा उहाँले भदौ २३ र २४ को घटना छानबिन आयोगको प्रतिवेदन अझैसम्म सार्वजनिक नगरिएको भन्दै ‘अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन ?’ भन्ने प्रश्नसमेत उठाउनुभएको छ।

पूर्व मन्त्री श्रेष्ठले निर्णय प्रक्रियाको पारदर्शितामाथि पनि प्रश्न उठाउँदै ‘यो निर्णय साँच्चै कसको हो ? निर्णय गर्नेको कि गराइनेको ?’ भन्दै टिप्पणी गर्नुभएको छ।

उहाँको उक्त टिप्पणीले पछिल्लो समय सरकार र रास्वपा भित्र देखिएको निर्णय प्रक्रिया, पारदर्शिता र राजनीतिक भाष्यप्रति बहस थप चर्किएको छ । नातावाद, कृपावाद तोड्ने भनेको सरकारले सो विषयको जानकारी नै नभएका प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई  प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णय गरेको छ भने गृह मन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गरेको छ ।

सुमनाले लेख्नु भएकाे छ :

अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी

आफूले गरे — “योगदानको कदर” ।

अरूले गरे — भागबन्डा

आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |

अरूले गरे — “नुनको सोझो”, “सेटिंग”

आफूले गरे — “पारस्परिक सम्बन्ध” |

अरूले गरे — “जे कुरामा पनि विरोध”

आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |

अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन ?

यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको ?