काठमाडौं, चैत २ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ। तर उहाँले राजनीतिक सङ्घर्ष भने निरन्तर जारी रहने स्पष्ट पार्दै आवश्यक परेसम्म जनमत पार्टीको नेतृत्व गर्दै अगाडि बढ्ने बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा उहाँले आफूले दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र अर्को पटक हार भए पनि निर्वाचनमा भाग लिएको निर्णयप्रति आफू सन्तुष्ट रहेको बताउनुभएको छ। उहाँका अनुसार मधेस आन्दोलनको पृष्ठभूमिमा २०७५ सालमा तत्कालीन ‘स्वतन्त्र मधेस गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जाने गतिविधिमा अवरोध सिर्जना भएपछि नयाँ राजनीतिक दल खोल्ने निर्णय गरिएको थियो। सोही क्रममा गठन भएको जनमत पार्टीको नेतृत्वका लागि अन्य नेताहरूलाई आग्रह गरिएको भए पनि उहाँहरूले नमानेपछि आफू स्वयं अध्यक्ष बन्नु परेको उहाँले स्मरण गर्नुभएको छ।
डा. राउतले २०७९ सालको आमनिर्वाचनका सन्दर्भमा आफू निर्वाचन नलड्ने प्रारम्भिक योजना रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार आफूले पार्टी स्थापना गरेको संस्थापक अध्यक्षको हैसियतमा संगठन निर्माण र चुनावी अभियानमा मात्रै भूमिका निर्वाह गर्ने सोच बनाउनु भएको थियो।
उहाँले भक्तपुरमा बसेको बैठकमै आफू समानुपातिक वा प्रत्यक्ष निर्वाचन कतै पनि नलड्ने तर पार्टीका लागि आवश्यक पर्ने सबै काम गर्न तयार रहेको धारणा राखेको स्मरण गराउनु भएको छ। तर पार्टीका अन्य नेताहरूले उहाँलाई निर्वाचन लड्न आग्रह गर्दै ‘यदि अध्यक्ष नै नलडे पार्टीले सिट नपाउन सक्छ’ भन्ने तर्क राखेपछि अन्ततः आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।
आफू सांसद वा मन्त्री बन्ने आकाङ्क्षा राखेर निर्वाचनमा नहोमिएको उहाँको भनाइ छ। व्यक्तिगत इच्छा नहुँदा पनि पार्टीको भविष्य र संगठनको मनोबललाई ध्यानमा राख्दै निर्वाचनमा सहभागी भएको उहाँले स्पष्ट पार्नु भएको छ ।
उहाँका अनुसार सो निर्णयले जनमत पार्टीलाई राष्ट्रिय पार्टी बन्ने आधार तयार गरिदियो। उहाँले प्रत्यक्षतर्फ एक सिट जित्दा समानुपातिकतर्फ थप पाँच सिट प्राप्त भएपछि पार्टी संसदमा प्रवेश गर्न सफल भएको उहाँले उल्लेख गर्नुभएको छ।
डा. राउतले त्यसबेला आफूले निर्वाचन नलडेको भए जनमत पार्टी राष्ट्रिय स्तरको पार्टी बन्ने सम्भावना कमजोर हुने निष्कर्ष आफूले पछि अनुभव गरेको बताउनुभएको छ। उहाँले ‘कम्तीमा एक सिट प्रत्यक्षमा जित्दा अन्य पाँच सिट समानुपातिकतर्फ प्राप्त भए र त्यसले पार्टीलाई राष्ट्रिय पार्टीको हैसियत दिलायो’ भन्दै सो निर्णयलाई पछिल्लो परिणामले सही साबित गरेको उल्लेख गर्नुभएको छ।
आफूले संसदीय राजनीतिबाट विश्राम लिने सोच धेरै पहिलेदेखि बनाइसकेको उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले २०८२ सालको निर्वाचन नलड्ने निर्णय लगभग निश्चित भइसकेको पनि बताउनुभएको छ। ६ महिनाअघि नै सामाजिक सञ्जालमार्फत ‘अब अरूले नेतृत्व गरेर देखाउनुपर्छ’ भन्ने भाव व्यक्त गरेको पोस्टको समेत उहाँले स्मरण गर्नुभएको छ।
सप्तरी–१ र सप्तरी–२ क्षेत्रमा उम्मेदवार खोज्ने प्रक्रिया चलिरहँदा अन्तिम समयसम्म आफू चुनाव नलड्ने अडानमा रहेको उहाँले बताउनुभएको छ। उम्मेदवारी दर्ताको दिनसमेत वैकल्पिक उम्मेदवारका फारम भरिएको भए पनि कार्यकर्ता र समर्थकबिच त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने अन्योल देखिएको उहाँले उल्लेख गर्नुभएको छ।
त्यस क्रममा स्थानीय नेताहरूले ‘अध्यक्ष नै नलडे कार्यकर्ताको मनोबल कमजोर हुन्छ’ भन्दै आग्रह गरेपछि अन्तिम समयमा आफूले पुनः उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार केही नेताहरूले ‘जितेपछि राजीनामा दिन सकिन्छ’ भन्ने सुझावसमेत दिनुभएको थियो ।
डा. राउतले आफूलाई यसपालि पार्टीले आफ्नै बलमा चार–पाँच सिट प्रत्यक्षतर्फ जित्न सक्ने विश्वास रहेको बताउनुभएको छ। त्यसैले आफू उम्मेदवार बन्नु उपयुक्त नदेखिएको उहाँको धारणा थियो। तर अन्ततः पार्टीको मनोबल र संगठनात्मक परिस्थितिलाई ध्यानमा राख्दै आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो।
निर्वाचन परिणामपछि भने फेरि पनि आफूले साथीहरूको सल्लाह मानेर उम्मेदवारी दिएको निर्णय ठिक भएको अनुभव भएको उहाँको भनाइ छ। उहाँका अनुसार आफू उम्मेदवार नबनेको भए पार्टीका उम्मेदवार नजित्नु वा पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुका लागि आफूलाई नै दोष लगाइने सम्भावना थियो।
उहाँले अब संसदीय वा पदको राजनीतिबाट आफू टाढा रहने घोषणा गर्नुभएको छ। उहाँले आगामी दिनमा पद र संसदीय राजनीतिप्रति लोभ वा आकर्षण बढ्ने सम्भावना रहन सक्ने भन्दै त्यस अघि नै स्पष्ट रूपमा संसदीय राजनीतिबाट विश्राम लिने बताउनुभएको छ । तर उहाँले राजनीतिबाट भने आफू अलग नहुने स्पष्ट पार्नुभएको छ।
डा. राउतले आफू सिद्धान्त र एजेण्डाको राजनीतिमा सक्रिय रहिरहने बताउँदै मधेस, अधिकार र पहिचानको आन्दोलनलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले जनताको सेवा र अधिकारको लडाइँमा निरन्तर सक्रिय रहने बताउँदै राजनीतिक संघर्षलाई नै आफ्नो मुख्य कार्यक्षेत्र बनाउने बताउनुभएको छ । साथै जनमत पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयार पार्न आफू प्रतिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
डा. राउतले आफू सधैँ जनताको बिचमा रहने बताउँदै हरेक आन्दोलन, सङ्घर्ष र राजनीतिक मोर्चामा कार्यकर्तासँगै उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले मधेसको अधिकार, पहिचान र स्वराजको मुद्दामा निरन्तर भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
उहाँले एउटा उर्दू शेर उद्धृत गर्दै भन्नुभएको छ—
‘मेरे सीने में नहीं तो तेरे सीने में सही
हो कहीं भी आग, लेकिन आग जलनी चाहिए।’
उक्त सन्देशमार्फत उहाँले परिवर्तन र अधिकारको आन्दोलन निरन्तर ज्वलन्त रहनुपर्ने सङ्केत गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्