काठमाडौं, चैत २ । प्रतिनिधि सभा सदस्य महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा प्रधानमन्त्रीका स्वकीय सचिवलाई नियुक्त गर्ने निर्णयप्रति आपत्ति जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पुनले प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्नु पूर्ण रूपमा गलत भएको टिप्पणी गर्नुभएको हो। उहाँले आदर्श श्रेष्ठलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि उक्त पद नलिन आग्रह गर्नुभएको छ। पुनले ‘प्रधानमन्त्रीले कमाउनुभएको ऐतिहासिक इज्जत धुलोमा नमिसियोस् भन्ने चाहनाले त्यो पद स्वीकार नगर्नु उपयुक्त हुन्छ’ भन्ने आशय व्यक्त गर्नुभएको छ।
उहाँले सानो व्यक्तिगत लोभका कारण प्रधानमन्त्रीको प्रतिष्ठामा असर पर्ने अवस्था आउन नदिन आग्रह गर्दै सार्वजनिक पदमा नियुक्ति गर्दा पारदर्शिता र योग्यता मुख्य आधार हुनुपर्ने बताउनुभएको छ।
सांसद पुनले नातावाद, चाकरीवाद, कृपावाद र चापलुसीको संस्कारले विगतमा पुराना राजनीतिक दलहरू कमजोर बनेको उल्लेख गर्दै त्यही प्रवृत्ति दोहोरिए नयाँ राजनीतिक शक्तिहरू पनि कालान्तरमा कमजोर बन्ने चेतावनी दिनुभएको छ।
उहाँले आफूले यो विषय उठाउनुको उद्देश्य कसैलाई आरोप लगाउनु नभई समयमै सचेत गराउनु रहेको उल्लेख गर्नुभएको छ।
पुनले भविष्यमा आउने सरकारले यस्ता नियुक्तिका विषयमा विवेकपूर्ण निर्णय गर्नुपर्ने पनि बताउनुभएको छ। उहाँले सार्वजनिक संस्थाहरूको नेतृत्व चयन गर्दा पारदर्शिता, क्षमता र संस्थाको गरिमालाई ध्यानमा राख्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।














प्रतिक्रिया दिनुहोस्