जनता टाइम्स

२ चैत्र २०८२, सोमबार १५:५७

अराजकतावाद र लोकप्रियतावादको जगमा उदाएको नयाँ शक्ति धेरै दिन टिक्दैन् : एमाले महासचिव पोखरेल


काठमाडौं, चैत २ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गर्नु भएको छ ।

पार्टीका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग आज भर्चुअल बैठकमा बोल्दै महासचिव पोखरेलले लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गर्नु भयो ।

पोखरेलले रास्वपा भित्र अवसरवादीको गठजोड रहेको भन्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गर्नुभयो ।  रास्वपाले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढेको भए पनि व्यवहारमा परिणाम दिन नसक्ने उहाँको दाबी छ ।

महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने बताउँदै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको पनि बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको उहाँको भनाइ छ। यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप भएको पोखरेलले बताउनुभयो ।

उहाँले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढङ्गले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताउनुभयो । उहाँले अन्ततः जनता स्थिर विचार र संगठित शक्ति भएको एमालेतर्फ नै फर्किने विश्वास व्यक्त गर्नुभयो ।