जनता टाइम्स

३ चैत्र २०८२, मंगलवार ११:०५

रामेछापमा १० वर्ष यताकै ठुला हावा- हुरी : विद्यालयका छाना उडायो, व्यक्तिगत भवनमा पनि क्षति 


रामेछाप, चैत ३ । सोमबार साँझ चलेको हावा–हुरीले रामेछाप जिल्लाका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍याएको छ। हावा–हुरीका कारण व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ ।

साँझ आएको हावाले घर तथा सार्वजनिक भवनका छाना उडाउनुको साथै रुख ढलेर विभिन्न संरचनामा क्षति पुर्याएकाे छ । सुनापति गाउँपालिका–५ भिरकोटस्थित बालमावि नजिकैको रुख ढल्दा विद्यालयको भवनको छानामा क्षति पुगेको छ भने शौचालयसमेत भत्किएको छ।

दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बास्थित काकलिङ माविको एक भवनको छानो हावाले पूर्ण रूपमा उडाएकाे छ । साे विद्यालयमा पठन पाठन प्रभावित भएको छ ।

हावा हुरीले विभिन्न स्थानमा व्यक्तिका घरमा पनि क्षति पुगेको छ भने रुखहरू ढलेर सडक समेत अवरुद्ध भएका छन् । अवरुद्ध सडक पन्छाउने काम जारी छ ।

हावा हुरीले लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँमा १० वटा भन्दा बढी व्यक्तिका घरमा क्षति पुगेको छ । अन्य स्थानको क्षतिको विवरण आइ नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

हावा–हुरीका कारण जिल्लाभर विद्युत् सेवामा समेत समस्या देखिएको थियो। साँझदेखि अवरुद्ध भएको विद्युत् केही बेर अघि मात्र सुचारु भएको छ ।

यो रामेछापमा १० वर्ष यताको सबैभन्दा ठुला हावा-हुरी भएको स्थानीयले बताएका छन् । यस अघि २०७२ सालको भूकम्प पछि यस्तै हावा-हुरी चलेको थियो ।