जनता टाइम्स

३ चैत्र २०८२, मंगलवार ११:५५

गाउँमै उपचार पाएपछि सुनापतिका स्थानीयले फिर्ता पाए आँखाको ज्योति


रामेछाप, चैत ३ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीका नागरिकका लागि गाउँमै सञ्चालन गरिएको आँखा शिविरले सुनापति गाउँपालिकाका स्थानीयमा नयाँ आशा मात्रै होइन, हराउँदै गएको दृष्टि पनि फिर्ता दिलाएको छ।

सुनापति गाउँपालिकामा आयोजना गरिएको दुई दिने ‘निःशुल्क मोतियाविन्दु स्क्रिनिङ तथा शल्यक्रिया शिविर’ सफलतापूर्वक सम्पन्न भएसँगै दर्जनौँ स्थानीयले पुनः आँखाको ज्योति पाएका हुन्। गाउँपालिकाको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान को प्राविधिक सहयोगमा हिलेदेवीस्थित सुनापति आधारभूत अस्पतालमा शिविर सञ्चालन गरिएको थियो।

शिविरमा ५६ जना मोतियाविन्दुका बिरामीहरूको सफल शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ। शल्यक्रियापछि धेरैजसो बिरामीले लामो समयदेखि गुमेको दृष्टि पुनः प्राप्त गरेपछि उनीहरूमा खुशी र उत्साह देखिएको छ। त्यस्तै, सयौँ स्थानीयले आँखा सम्बन्धी परीक्षण र परामर्श सेवा समेत लिएका थिए।

विशेषगरी वृद्धवृद्धा तथा विपन्न समुदायका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउँदा कति प्रभावकारी हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। यसअघि सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेका स्थानीयले आफ्नै गाउँमा सेवा पाएपछि राहत महसुस गरेका छन्।

शिविरमा सहभागी बिरामीहरूका लागि गाउँपालिकाले घरदेखि अस्पतालसम्म ल्याउने र उपचारपछि पुनः घरसम्म पुर्‍याउने निःशुल्क सवारी व्यवस्था मिलाएको थियो। साथै, उपचार अवधिभर बिरामी र कुरुवाका लागि निःशुल्क खाना तथा आवासको समेत प्रबन्ध गरिएको थियो।

विशेषज्ञ चिकित्सकहरूको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरी शल्यक्रिया सम्पन्न गरेको जनाइएको छ। गाउँपालिकाका अनुसार ‘दृष्टिविहीनता न्यूनीकरण’ अभियान अन्तर्गत यस्तो कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँमै सेवा पाएपछि स्थानीय ज्येष्ठ नागरिकहरू भावुक देखिएका थिए। ‘अब फेरि आफ्नै आँखाले संसार देख्न पाएँ,’ भन्ने अनुभूति धेरै बिरामीले व्यक्त गरेका छन्।

यस प्रकारका शिविरहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारसँगै नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएकाे छ ।