काठमाडौं, चैत ३ । नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको दुई दिने कार्यक्रम अप्रत्याशित रूपमा विवादमा तानिएको छ। पार्टीका शीर्ष नेता सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेन कार्यक्रममा अनुपस्थित भएपछि यसले केवल व्यवस्थापनको विषय मात्र होइन, नेतृत्वको व्यवहार र सांसदप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न खडा गरेको छ।
ललितपुरको ग्वार्कोस्थित एक होटेलमा सञ्चालन भइरहेको अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरू सहभागी छन्। तर, पार्टी नेतृत्वको अनुपस्थितिले कार्यक्रमको उद्देश्य र सन्देश दुवैमाथि बहस सुरु भएको छ।
यस घटनापछि सामाजिक सञ्जाल र सार्वजनिक बहसमा तीव्र प्रतिक्रिया देखिएको छ। कतिपय मतदाताले सांसदलाई अभिमुखीकरणको नाममा ‘मालिक र दास’को रूपमा व्यवहार गरिएको आरोप लगाउन थालेका छन्। उनीहरूको भनाइमा, “जनताले मत दिएर जिताएका प्रतिनिधिलाई सम्मान गर्नुपर्नेमा शीर्ष नेताहरू स्वयं अनुपस्थित हुनु, घरमै बसेर मन्त्री छनोटको अभ्यास गर्नु र सांसदहरूलाई ‘ज्यू–हजुर सिक्ने’ अवस्थामा राख्नु जस्तो देखिएको छ।”
मतदाताहरूले सांसदहरूको सम्मान सुनिश्चित गर्न आग्रह गर्दै, “जतिसुकै असक्षम भए पनि जनताले विश्वास गरेर जिताएका प्रतिनिधिको गरिमा कायम राखिनुपर्छ,” भन्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्न थालेका छन्।

विवाद बढ्दै जाँदा पार्टी उपसभापति डिपी अर्यालले शीर्ष नेतृत्वको अनुपस्थितिबारे प्रष्ट्याउनु पर्ने अवस्था तालिममा आएको छ। उहाँले सभापति लामिछाने र वरिष्ठ नेता शाह स्वास्थ्य अवस्था तथा कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएको स्पष्टीकरण दिनु भएको छ । सहभागीले भने सभापति र वरिष्ठ नेताले समय दिन नसक्ने समयमा किन तालीम राखेको भन्ने प्रश्न उठाएका छन् ।
सहभागीको जिज्ञासा समाधान गर्न अर्यालले बनावटी जवाफ दिनुभएको छ । “उहाँहरूलाई कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको छ,” उपसभापति अर्यालले भन्नुभयो । यसको अर्थ उहाँहरू बैठकमा आउन नचाहनुभएकाे प्रष्ट छ । यस्तो महत्त्वपूर्ण कार्यक्रममा शीर्ष नेतृत्वको अनुपस्थिति सामान्य विषय होइन।
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाले रास्वपाको आन्तरिक संरचना र नेतृत्व शैलीबारे गम्भीर सङ्केत दिएको छ। ‘नयाँ राजनीति’को नारा बोकेको पार्टीमा यदि शीर्ष नेतृत्व र निर्वाचित प्रतिनिधिबीच दूरी देखिन थाल्यो भने, त्यसले दीर्घकालीन असर पार्न सक्ने उनीहरूको भनाइ छ।
विशेषगरी, पहिलो पटक ठुलो सङ्ख्यामा संसद् पुगेका सांसदहरूलाई मार्गनिर्देशन गर्ने कार्यक्रममा नेतृत्वको प्रत्यक्ष संलग्नता आवश्यक हुनेमा त्यसको अभावले असन्तोष बढाउनु स्वाभाविक हो ।

रास्वपाभित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबीचको सम्बन्धलाई लिएर पहिलेदेखि नै विभिन्न अड्कलबाजी हुँदै आएका छन्।
यसपटक दुवै नेता एकैसाथ अनुपस्थित हुनु संयोग मात्र हो वा आन्तरिक असमझदारीको सङ्केत ? यो प्रश्न झन् चर्किएको छ विश्लेषकहरूका अनुसार यो घटनाले पार्टीभित्र ‘शक्ति सन्तुलन’को मुद्दा सतहमा ल्याएको छ।
नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम उनीहरूको संसदीय भूमिकाको प्रारम्भिक आधार तयार गर्ने अवसर हो। यस्तो अवस्थामा नेतृत्वको अनुपस्थितिले उनीहरूको मनोबलमा असर पार्न निश्चित छ ।
रास्वपाको अभिमुखीकरण कार्यक्रम अहिले केवल प्रशिक्षण कार्यक्रम नभई राजनीतिक बहसको विषय बनेको छ। ‘अभिमुखीकरण कि सांसदको अपमान ?’ भन्ने प्रश्नले पार्टीको आन्तरिक संस्कार, नेतृत्वको उत्तरदायित्व र जनप्रतिनिधिको सम्मानको विषयलाई केन्द्रमा ल्याएको छ।
अब हेर्न बाँकी छ- पार्टीले उठेका प्रश्नहरूको जवाफ कसरी दिन्छ र ‘नयाँ राजनीति’को आफ्नो दाबीलाई व्यवहारमा कसरी प्रमाणित गर्छ।













प्रतिक्रिया दिनुहोस्