काठमाडौं, चैत ३ । चुनावमा पार्टीका उम्मेदवार ठाकुर गैरेको पराजयको नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी र मातहतका वडा कमिटी विघटन गरिएको छ।
मंगलबार बसेको निर्वाचन समीक्षा बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गर्ने निर्णय गरेको हो। सो निर्णयबारे जानकारी दिँदै अध्यक्ष गुराँस आत्रेयले २०७९ सालको समानुपातिकतर्फ एमालेले पाएको करिब ९ हजार मत यस पटक घटेर ४ हजारमा खुम्चिएपछि नगर कमिटी विघटन गरिएको बताउनुभयो।
उहाँका अनुसार उक्त नगरमा १ नगर कमिटी, १४ वडा कमिटी र ७२ टोल कमिटी गठन गरिएको थियो। कार्यकर्ताको रोजाइ र भावनाअनुसार चुस्तदुरुस्त संगठन निर्माण गर्न साबिकका कमिटी विघटन गरिएको अध्यक्ष आत्रेयले स्पष्ट पार्नुभयो।
बैठकले आगामी २०८३ जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसका अवसरमा नगर अधिवेशन गर्ने तथा ३ महिनाभित्र सबै वडा कमिटी पुनर्गठन गर्ने निर्णय समेत गरेको छ।
निर्वाचनमा पराजित हुनुभएका एमाले नेता ठाकुर गैरे पनि बैठकमा सहभागी हुनुहुन्थ्यो। उहाँले असहज परिस्थितिमा विशेष जिम्मेवारी निर्वाह गर्नुहुने सबैलाई धन्यवाद दिँदै अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्