जनता टाइम्स

४ चैत्र २०८२, बुधबार ०८:४१

इरानविरुद्ध अभियानमा अब नेटोको सहयोग आवश्यक छैन : डोनाल्ड ट्रम्प 


वासिङ्टन, चैत ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्धको सैन्य अभियानमा अन्य देशहरूको सहयोग नपाएपछि आक्रोशित देखिनु भएको छ। उहाँले विशेषगरी नेटो सदस्य राष्ट्रहरूप्रति असन्तुष्टि व्यक्त गर्दै अब उनीहरूको सहयोग आवश्यक नभएको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले हालै दिएको अभिव्यक्तिमा धेरैजसो नेटो सहयोगी राष्ट्रहरूले मध्यपूर्वमा इरान विरुद्ध अमेरिकी सैन्य अभियानमा सहभागी हुन नचाहेको जानकारी गराएका छन्। उहाँका अनुसार ती देशहरू अमेरिकाको कदमप्रति सहमत भए पनि प्रत्यक्ष रूपमा संलग्न हुन इच्छुक देखिएका छैनन्।

उहाँले नेटोलाई ‘एकतर्फी संरचना’ को रूपमा चित्रण गर्दै संयुक्त राज्य अमेरिकाले ती देशहरूको सुरक्षाका लागि ठुलो रकम खर्च गर्दै आएको तर आवश्यक पर्दा अपेक्षित साथ नपाएको गुनासो गर्नुभयो। राष्ट्रपति ट्रम्पले आफ्नो अभिव्यक्तिमा अमेरिकी सेनाले इरानविरुद्ध ठुलो सैन्य सफलता हासिल गरेको दाबी पनि गर्नुभएको छ। उहाँका अनुसार इरानको नौसेना, वायुसेना तथा प्रतिरक्षा प्रणालीहरू कमजोर बनाइएको छ भने नेतृत्व तहमा समेत ठुलो क्षति पुगेको उल्लेख गर्नुभयो।

उहाँले थप रूपमा अब अमेरिका विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रका रूपमा स्वतन्त्र रूपमा अघि बढ्न सक्षम रहेको भन्दै जापान, अष्ट्रेलिया, दक्षिण काेरिया जस्ता देशहरूको सहयोग पनि आवश्यक नभएको धारणा व्यक्त गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पको यस अभिव्यक्तिले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ भने अमेरिका–नेटो सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ।