जनता टाइम्स

४ चैत्र २०८२, बुधबार ०८:५४

आज घोडेजात्रा पर्व, काठमाडौँ उपत्यकामा परम्परागत रूपमा मनाइँदै


काठमाडौं, चैत ४ गते । आज घोडेजात्रा पर्व । काठमाडौँ उपत्यकाभर परम्परागत रूपमा मनाइँदै छ।

चैत कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई पिशाच चतुर्दशी पनि भन्ने गरिन्छ। काठमाडौँ उपत्यकामा यो पर्व विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमसहित विशेष रूपमा मनाउने परम्परा रहेको छ।

किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एक रुखमा बस्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीयवासीले विभिन्न उपाय अपनाई उक्त राक्षसलाई मार्न सफल भए पनि त्यसको प्रेतात्माले पुनः अनिष्ट गर्न सक्ने डर कायमै रह्यो। सोही कारण हरेक वर्ष आजकै दिन घोडेजात्रा आयोजना गरी घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने विश्वास रहेको छ।

यसैगरी बालबालिकाको सुरक्षाका लागि राति उक्त स्थानमा गुरुमापालाई खानेकुरा चढाउने परम्परा पनि रहिआएको छ।

काठमाडौं, ललितपुर (पाटन) र भक्तपुर सहित उपत्यकाका तीन सहरमा घोडेजात्रा भव्य रूपमा मनाइन्छ। तीन दिनसम्म चल्ने यस पर्वको अन्तिम दिन चैत शुक्ल परेवाका दिन मातृका देवीका खट नगर परिक्रमा गराउने र ६ वटा गल्लीबाट ल्याई असन चोकमा ७ वटा खट घुमाउने चलन रहेको छ। यसलाई ‘सप्तमातृका’बीच आपसी ढोगभेटको रूपमा पनि लिने गरिएको छ।

घोडेजात्रा पर्वको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।