काठमाडौं, चैत ४ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूलाई निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भएको छ।
प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता बालुवाटार पुग्नु भएको थियो।
सो अवसरमा प्रधानमन्त्री कार्कीले ‘तपाईंहरूले निर्वाचनमा सहभागी भई चुनावको पक्षमा वातावरण निर्माण गर्नु भयो र मुलुकलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामार्फत निकास दिन सहयोगी भूमिका खेल्नु भयो, यसका लागि हार्दिक धन्यवाद छ’ भनी आभार व्यक्त गर्नु भएको थियो।
उहाँले निर्वाचनमा विजयी नेताहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुका साथै पराजित नेताहरूलाई आगामी अवसरका लागि शुभकामना दिनु भएको थियो।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले पनि निर्वाचन सम्पन्न भई मुलुकले निकास पाएको उल्लेख गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकोमा प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नु भएको थियो।













प्रतिक्रिया दिनुहोस्