काठमाडौं, चैत ४ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चुनावको नतिजाले महत्त्वपूर्ण शिक्षा दिएको बताउनु भएको छ।
उहाँले यसबाट पाठ सिकेर अघि बढ्नु पर्ने धारणा राख्नु भएको छ । भारतीय राजनीतिक इतिहासको उदाहरण दिँदै सन् १९८४ को भारतीय आम चुनावमा कांग्रेस (आई) ले “राजीव लहर” मार्फत दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको उहाँले स्मरण गर्नु भएको छ । ‘भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको “बालेन लहर” जस्तै “राजीव लहर” देखिएको थियो, त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो, वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा बिस्तारै सशक्त बन्दै अघि बढ्यो, यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ’, सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ ।
महासचिव पोखरेलले यस घटनाक्रमबाट चुनावी लहर वा एकपटकको ठुलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन भन्ने पाठ सिक्नु पर्ने बताउनुभएको छ। जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार भएको उहाँको धारणा छ । ‘यो शिक्षा जित्ने र हार्ने दुवै पक्षका लागि महत्त्वपूर्ण छ, चुनावको नतिजा मात्र सफलता मान्ने आधार हुनु उचित छैन, दीर्घकालीन राजनीतिक स्थायित्व र मुलुकको प्रगतिका लागि संगठन र जनसमर्थनको निरन्तर सुदृढीकरण आवश्यक छ’, उहाँको धारणा छ ।













प्रतिक्रिया दिनुहोस्