काठमाडौं, चैत ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई ‘म’ केन्द्रित होइन, ‘देश’ केन्द्रित राजनीति गर्न निर्देशन दिनुभएको छ। उहाँले जनताले दिएको अभूतपूर्व विश्वासलाई जिम्मेवारीका साथ पूरा गर्न नसके रास्वपा पनि असफल हुने चेतावनी दिनुभयो।
सांसदहरूका लागि आयोजित दुईदिने संसदीय अभ्याससम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन गर्दै उहाँले अबको पाँच वर्ष रास्वपाका लागि ‘परीक्षाको घडी’ भएको बताउनुभयो। उहाँले मुलुक परिवर्तनको अपेक्षामा रहेको र जनताले परिवर्तन चाहिसकेपछि त्यसलाई कुनै शक्तिले रोक्न नसक्ने उल्लेख गर्दै सही नेतृत्व र सही समूह आवश्यक रहेको बताउनुभयो।
सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई ऐतिहासिक रूपमा ठूलो विश्वासका साथ मत दिएको उल्लेख गर्दै अब बहानाबिना काम गर्ने समय आएको स्पष्ट पार्नुभयो। ‘अब अड्काउने भनेको हाम्रो नियतले मात्रै हो,’ उहाँले भन्नुभयो।
उहाँले सांसदहरूलाई व्यक्तिगत स्वार्थ, पदलोलुपता र गुटबन्दीबाट टाढा रहन आग्रह गर्दै ‘म कहाँ पुग्छु’ भन्ने सोच त्याग्न निर्देशन दिनुभयो। ‘देशलाई सुरक्षित राखियो कि राखिएन भन्ने मुख्य कुरा हो,’ उहाँको भनाइ थियो।
नेपाली राजनीतिमा बिचौलियाको प्रभाव गहिरो रहेको उल्लेख गर्दै उहाँले कुनै पनि स्वार्थ समूहको प्रभावमा नपर्न सचेत गराउनुभयो। सांसदहरूलाई फुटाउन र प्रभावमा पार्न विभिन्न प्रयास हुने भन्दै त्यस्ता गतिविधिबाट जोगिन उहाँले आग्रह गर्नुभयो।
उहाँले पार्टीभित्र अनुशासन कायम गर्न ‘राइट टु रिकल’ व्यवस्था कडाइका साथ लागू गरिने बताउनुभयो। स्वतन्त्रता र अनुशासनबीचको सन्तुलन कायम गर्नुपर्ने उल्लेख गर्दै उहाँले अराजकता सह्य नहुने स्पष्ट पार्नुभयो।
सभापति लामिछानेले सांसदहरूलाई जिम्मेवार अभिव्यक्ति दिन, सामाजिक सञ्जालमा संयमित हुन तथा वैदेशिक सम्बन्धमा असर पर्ने टिप्पणी नगर्न निर्देशन दिनुभयो। ‘विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, छाडा हुनु होइन,’ उहाँले भन्नुभयो।
उहाँले सांसदहरूलाई सहिद परिवारको त्याग सम्झँदै काम गर्न आग्रह गर्नुभयो। ‘समाजको सपनाको भारी हामीले बोक्नैपर्छ,’ उहाँले उल्लेख गर्नुभयो।
सरकारी सेवाको गुणस्तर सुधारका लागि जनप्रतिनिधि स्वयं उदाहरण बन्नुपर्ने भन्दै उहाँले सम्भव भएसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गर्नुभयो। साथै, आफ्नो निर्वाचन क्षेत्र मात्र नभई समग्र देशको सन्तुलित विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
मन्त्री बन्नका लागि कुनै पनि प्रकारको ‘मिडिया ट्रायल’ वा दबाब सिर्जना नगर्न निर्देशन दिँदै उहाँले क्याबिनेट गठन पार्टीले गर्ने स्पष्ट पार्नुभयो। सांसदहरूलाई निरन्तर अध्ययन र आत्मविकासमा जोड दिन आग्रह गर्दै उहाँले ज्ञान र व्यवहारमा परिपक्वता आवश्यक रहेको बताउनुभयो।
उहाँले रास्वपा अझ समावेशी बन्नुपर्ने आवश्यकता औँल्याउँदै राई, लिम्बू लगायत केही समुदायको प्रतिनिधित्व छुट्न गएको स्वीकार गर्नुभयो र त्यसका लागि क्षमायाचना गर्नुभयो।
नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न देशभित्र रोजगारी, स्वास्थ्य र शिक्षाको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै उहाँले जनताले दिएको अवसरलाई ऐतिहासिक रूपमा उपयोग गर्न सांसदहरूलाई आह्वान गर्नुभयो।












प्रतिक्रिया दिनुहोस्