जनता टाइम्स

४ चैत्र २०८२, बुधबार १९:१२

संखुवासभाकी सरुका लागि बरदान बन्यो राष्ट्रपति महिला उत्थान कार्यक्रम


संखुवासभा, फागुन ४ । अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार नै सुत्केरी भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो ।

सरुले आजै बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत शिशुको जन्म दिनुभएको थियो। शिशुको जन्मपछि अत्यधिक रक्तस्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उहाँलाई संखुवासभाबाट उद्धार गरेर काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको छ । संखुवासभाबाट यसै आर्थिक वर्ष २०८२–८३ मा एक दर्जन सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तात्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पालामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएको थियो । त्यसबेला एमालेबाहेक सवैले आफ्नो पार्टीबाट राष्ट्रपति बिद्यादेवी भण्डारी रहेकोले एमाले सरकारले यस्तो कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री ओलीको चर्काे आलोचना गरेका थिए ।

तर सोही कार्यक्रम अहिले दुर्गम क्षेत्रमा महिलाका लागि बरदान सावित हुँदै गएको छ भने आलोचकहरु गल्ती गरिएछ भन्न बाध्य भएका छन ।