नवराज पथिक
रामेछाप, चैत ५ । मन्थली नगरपालिका–८ चिसापानीमा एउटा पक्की सडक छ। तर त्यो अब केवल बाटो मात्र होइन, स्थानीयको मिहिनेत, प्रेम र सामूहिक भावनाले सिँचिएको एउटा हरित सपना बनेको छ।
जिल्ला सदरमुकामलाई जाेड्ने मन्थली–चिसापानी सडकको जखनिटारदेखि चिसापानीसम्मको खण्ड अहिले बगैँचाजस्तै चिटिक्क देखिन्छ। सडक किनारमा फुलिरहेका फूलहरू, पलाउँदै गरेका फलफूलका बिरुवाहरू र ती वरिपरि देखिने माया-यी सबैले यो ठाउँलाई केवल यात्रा गर्ने बाटो नभई अनुभूति गर्ने गन्तव्य बनाइदिएको छ।
यो परिवर्तन आकस्मिक होइन। मन्थली नगरपालिका–८ वडा कार्यालयको अगुवाइमा स्थानीय बासिन्दाले ३ वर्षअघिदेखि सुरु गरेको हरित अभियानको परिणाम हो यो। वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार ‘हरित सडक’ अवधारणाअनुसार सुरु गरिएको यो अभियानमा सुरुमा फूलका बिरुवा रोपिए, त्यसपछि आँप, लिची जस्ता फलफूलका बिरुवाले पनि सडक किनार सजाउन थाले।
तर यी बिरुवाहरू केवल रोपेर छाडिएका होइनन् ।यी त स्थानीयको पसिना र ममताले हुर्किएका छन्।
सुक्खा मौसममा पानीको अभाव हुँदा पनि स्थानीयले हार मानेनन्। कसैले बोतलमा पानी बोकेर लगे, कसैले आफ्नो समय छुट्याएर बिरुवा गोड्न पुगे। कसैले बाँसले बार हालेर बिरुवालाई जोगाए, त कसैले उर्दी लगाएर सबैलाई सँगै जुटाए। यसरी एउटा सानो प्रयासले समुदायको ठूलो शक्ति देखायो।
आज ती फूलहरू फुल्न थालेका छन्, आँपका बिरुवामा फूल खेल्न थालेका छन्। सडक भएर हिँड्ने जो कोहीलाई पनि अब त्यहाँबाट गुज्रँदा बगैँचा घुमेजस्तो अनुभूति हुन्छ।
तर यो कथा केवल सुन्दर पक्षमै सीमित छैन। वडाध्यक्ष श्रेष्ठका अनुसार केही गैरजिम्मेवार व्यक्तिले बिरुवाका बार भत्काउने, मुन्टो निमोठ्ने जस्ता काम पनि गर्ने गरेका छन्। यस्तो व्यवहारले मेहनतको कदर नगर्ने मानसिकता अझै बाँकी रहेको देखाउँछ। यस्ता गतिविधि रोक्न वडा कार्यालयले सूचना जारी गर्दै दोषीबारे जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था समेत गरेको छ।
यी चुनौतीबीच पनि स्थानीयको उत्साह भने कम भएको छैन। बरु उनीहरू अझै दृढताका साथ आफ्नो हरित सपना जोगाउन लागिपरेका छन्।
चिसापानीको यो सानो उदाहरणले एउटा ठूलो सन्देश दिन्छ । परिवर्तन सधैँ ठूलो बजेट र योजनाबाट मात्रै सम्भव हुँदैन । कहिलेकाहीँ केही प्रतिबद्ध मानिसको सानो प्रयासले पनि पुरै ठाउँको अनुहार बदल्न सक्छ।
आज चिसापानीको त्यो सडक केवल यात्राको बाटो होइन, एउटा प्रेरणा बनेको छ । जहाँ हरेक फूलले भन्छ, ‘तपाईँकाे मन छ भने, गाउँ आफैँ बदल्न सकिन्छ।’













प्रतिक्रिया दिनुहोस्