जनता टाइम्स

५ चैत्र २०८२, बिहीबार १८:१८

रवि लामिछाने मुद्दामा कागजात झिकाउन सर्वोच्चको आदेश


काठमाडौं, चैत ५ । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथि दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयसँग सम्बन्धित सक्कल कागजात पेस गर्न आदेश दिएकाे छ ।

न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले मातहतका जिल्ला सरकारी वकिल कार्यालयलाई २०८२ पुस ३० गते दिएको अभियोगपत्र संशोधनसम्बन्धी निकास तथा सोही विषयमा २०८२ माघ २ गते गरिएको ‘त्रुटि सच्याउने’ निर्णयको प्रतिलिपि मगाएकाे हाे ।

महान्यायाधिवक्ता सविता भण्डारीले प्रारम्भमा रवि लामिछानेसम्बन्धी मुद्दामा मात्र अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो । त्यसको दुई दिनपछि अन्य आरोपीहरूको हकमा समेत संशोधन लागू हुने निर्णय गरिएको थियो ।

उक्त मुद्दालाई चैत ९ गतेका लागि हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा पेस गर्न आदेश दिइएको छ ।