काठमाडौं, चैत ५ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।
संवत् २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको प्रतिवेदन प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम शीतल निवासमा राष्ट्रपति समक्ष पेस गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले विशेष परिस्थितिमा सम्पन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिनुभएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका गतिविधि तथा परिणामको सार प्रस्तुत गर्नुभएको थियो ।
निर्वाचन परिणामअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ६ राजनीतिक दलका १६४ जना र १ स्वतन्त्रसहित १६५ जना निर्वाचित भएका छन् । समानुपातिकतर्फ ६ राजनीतिक दलका ११० जना निर्वाचित भएका छन् । यससँगै २७५ सदस्यीय प्रतिनिधिसभामा १७९ पुरुष र ९६ महिला निर्वाचित भएका छन् ।
समावेशीतातर्फ आदिवासी जनजाति २१.०९ प्रतिशत, खसआर्य ४९.०९ प्रतिशत, थारु ३.२७ प्रतिशत, दलित ६.१८ प्रतिशत, मधेसी १६.७३ प्रतिशत र मुस्लिम ३.६४ प्रतिशत प्रतिनिधित्व रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा ११४ राजनीतिक दलले भाग लिएका थिए । तीमध्ये ६५ दल पहिलो हुने प्रणालीतर्फ र ६३ दल समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका थिए ।
पहिलो हुने प्रणालीतर्फ ३४०६ जना उम्मेदवार तथा समानुपातिकतर्फ ३१३५ जनाको बन्दसूची कायम गरिएको थियो ।
निर्वाचनका लागि कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका थिए ।














प्रतिक्रिया दिनुहोस्