काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामाको बिपक्षमा उभिनुभएको छ । थापाले बिहीवार उपसभापति शर्मालाई राजीनामा बुझाएपछि उहाँको यस्तो धारणा आएको हो ।
सभापति गगनको राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्दै शर्माले स्वीकृत नगरी अस्वीकृतीको प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा लैजाने बताउनु भएको छ । सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै शर्मा गगनको राजीनामाको विपक्षमा उभिनुभएको हो ।
कांग्रेस सभापति थापाले चुनावमा पराजयको नैतिक जिम्मेवारी लिँदै बिहिवार बिहान पदबाट राजीनामा दिएपछि उपसभापति शर्माले नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक भए पनि अहिलेको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व भएको बताउनु भएको छ ।
उपसभापति शर्माले भन्नुभएको छ, ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो,’ शर्माले लेखेका छन्, ‘बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ ।’
बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने उहाँको भनाई छ । डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसङ्गत नहुने शर्माको तर्क छ । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ३८ सिटमा मात्रै जित हासिल गरेको थियो। सोही कारण सभापति थापाले राजीनामा दिनुभएको हो ।
स्रोतका अनुसार राजीनामा पत्र लिने बेला शर्माले थापालाई हुन्न भन्दै अस्वीकार गर्नुभएको थियो । ‘एक–दुई–तीन हुन्न, यो हुँदैहुन्न’ भन्दै शर्माले पत्र बुझ्न नमाने पनि थापाले आफू निर्णयमा पुगिसकेकोले पछि नहटने भन्दै ‘दाई बुझिदिनोस् न भनेर हाँस्दै मनाउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्