जनता टाइम्स

६ चैत्र २०८२, शुक्रबार १७:५१

नेपाली कांग्रेसकाे बैठक आइतबारसम्मका लागि स्थित, सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न सुझाव 


काठमाडौं, चैत ६। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको हो ।

आजको बैठकमा पार्टी सभापति गगनकुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा पत्र प्रस्तुत भएको थियो । तर सो राजीनामा फिर्ता लिनु पर्ने प्रस्ताव उपसभापति शर्माले राख्नु भएको थियो । उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले पनि असहमति जनाउनु भएको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

बैठकमा उपसभापति शर्माले निर्वाचनमा हारको कारण केलाउँदै समीक्षा प्रतिवेदन पनि पेस गर्नु भएको थियो । आजको बैठकमा सोही प्रतिवेदनमाथि छलफल चलेको नेताहरूले बताएका छन् ।

बैठकमा उपसभापति शर्माले नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि कांग्रेसले अपनाएको मूल नीतिको विजय भएको बताउनुभयो । कांग्रेसले अङ्गीकार गरेको राजनैतिक र आर्थिक नीतिका पछिल्तिर पुराना नयाँ सबै दल उभिन आइपुगेका बताउँदै उहाँले  वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थव्यवस्था अबको नेपालमा सबैको साझा मूलमार्ग बन्न पुगेको दाबी गर्नुभयो ।

 उहाँले कांग्रेस दोस्रो दल बन्दा संयमित र जिम्मेवार राजनैतिक दल देशको संसद्ले जिम्मेवार प्रतिपक्षका रूपमा पाएको बताउनुभयो । कांग्रेस प्रतिपक्षी बेञ्चमा बसेर जिम्मेवार ढङ्गले प्रस्तुत हुने उहाँले बताउनुभयो ।

उहाँले पार्टी विशेष महाधिवेशन मार्फत परिवर्तनको सन्देश लिएर नगएको भए चुनावमा ऊर्जाका साथ खट्न नसकिने र यो भन्दा पनि खराब अवस्था आउने विश्लेषण सुनाउनुभयो। पार्टीले पराजय व्यहोरेको भए पनि विशेष महाधिवेशनले नवीन रक्तसञ्चार गरेको थियो भन्नेमा देशभर आम पार्टी सदस्यको अव्यक्त मनोविज्ञान र व्यक्त धारणा पाइएको शर्माले बताउनुभयो ।

प्रतिकुल अवस्था बिच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताउँदै उहाँले परिवर्तनको सन्देशले पार्टी पङ्क्तिमा ऊर्जा भरेको कारण पार्टी शून्य परिणामको दुर्दशा र चरम निराशामा पुग्नबाट जोगिएको  बताउनुभयो । फागुन २१ अब विगत भइसकेको बताउँदै उहाँले पार्टी नयाँ ढङ्गले अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।