दोलखा, चैत ७ । नेकपा (एमाले) जिल्ला कमिटी, दोलखाले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामलाई गम्भीर आत्मसमीक्षाको विषय बनाउँदै यसलाई ‘पराजयभन्दा पनि जनविश्वास पुनः प्राप्त गर्ने अवसर’का रूपमा व्याख्या गरेको छ। पार्टीकाे सम्पन्न विस्तारित बैठकपछि जारी प्रेस विज्ञप्तिमार्फत जिल्ला कमिटीले वर्तमान राजनीतिक अवस्था, निर्वाचन परिणाम र आगामी रणनीतिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
विज्ञप्तिमा निर्वाचनअघि नै राजनीतिक अन्योल, पार्टीमाथि तीव्र आक्रमण र घेराबन्दीको अवस्था रहे पनि पार्टीले जिम्मेवारीबोधका साथ चुनावी मैदानमा उभिएको उल्लेख गरिएको छ। ‘निर्वाचनमा सहभागी हुनु बाध्यता होइन, वैचारिक प्रतिबद्धता र पार्टीलाई संकटबाट जोगाउने प्रयास थियो,’ विज्ञप्तिमा भनिएको छ।
एमाले दोलखाले निर्वाचन परिणाम अपेक्षाअनुसार नभएको स्वीकार गर्दै त्यसले पार्टीलाई गम्भीर आत्मसमीक्षाको मोडमा उभ्याएको जनाएको छ। ‘हामी इतिहासकै कठिन मोडमा उभिएका छौँ, जहाँ भावनात्मक प्रतिक्रिया होइन, विवेकपूर्ण विश्लेषण आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।
पार्टीले यो अवस्था केवल आफ्नो मात्र नभई समग्र लोकतान्त्रिक र वाम आन्दोलनको संक्रमणको संकेत भएको विश्लेषण गरेको छ। नेतृत्व परिवर्तन, नयाँ दल निर्माण, गठबन्धन र वैकल्पिक राजनीतिक अभ्यास अपनाउने शक्तिहरूले समेत अपेक्षित सफलता नपाएको उल्लेख गर्दै असन्तोष समाजव्यापी रूपमा फैलिएको निष्कर्ष निकालिएको छ।
युवा पुस्तामा अवसरको अभाव र भविष्यप्रतिको अनिश्चितताले मतदान व्यवहारलाई प्रभावित गरेको एमालेको निष्कर्ष छ। मतदान केवल विचारमा आधारित नभई निराशा, अपेक्षा र वैकल्पिक भविष्यको खोजबाट प्रभावित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै लोकप्रियतावादले क्षणिक प्रभाव पारे पनि दीर्घकालीन रूपमा स्थायित्व पाउन नसक्ने सन्देश जनतामा प्रभावकारी रूपमा पुर्याउन नसकिएको स्वीकार गरिएको छ।
एमाले दोलखाले फागुन २१ को निर्वाचनलाई ‘हार–जितको अंकगणितभन्दा माथि उठेर राजनीतिक चेतना र पुनर्संरचनाको संकेत दिने ऐतिहासिक अवसर’का रूपमा व्याख्या गरेको छ। यो निर्वाचनलाई राजनीतिक असन्तोष, प्रयोगवाद, लोकप्रियतावाद तथा आन्तरिक–बाह्य शक्ति संरचनाबीचको द्वन्द्वको परिणामका रूपमा विश्लेषण गरिएको छ।
विज्ञप्तिमा भदौ २३ र २४ का घटनाहरूले एमालेविरुद्ध योजनाबद्ध अविश्वास सिर्जना गरिएको दाबी गरिएको छ। पार्टीका कार्यालयमा आक्रमण, नेता–कार्यकर्तामाथि हिंसा र राजनीतिक घेराबन्दीका बीच निर्वाचनमा सहभागी हुनु लोकतान्त्रिक प्रतिबद्धताको उदाहरण भएको एमालेको भनाइ छ। यस्ता गतिविधिले ‘स्थापित राजनीतिक दलभन्दा बाहिर विकल्प खोज्ने’ मनोवैज्ञानिक अभियानलाई बल पुर्याएको र त्यसको असर दोलखाको निर्वाचनमा समेत देखिएको उल्लेख गरिएको छ।
एमालेले दोलखामा आफ्नो परम्परागत आधार क्षेत्र गुमाउनु परेको स्वीकार गर्दै पनि यसलाई अस्थायी धक्का मात्र भएको दाबी गरेको छ। ‘कम्युनिष्ट आन्दोलन ऐतिहासिक आवश्यकताबाट जन्मिएको हो, त्यसैले अस्थायी पराजयले यसको आधार समाप्त हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।
पार्टीले कार्यकर्तालाई निराश नहुन र पुनः जनतामाझ पुगेर संगठन सुदृढ गर्न अपिल गरेको छ। ‘भीडतन्त्रबाट उत्पन्न अस्थायी परिणामले विचलित नभई एमालेको विरासत पुनःस्थापित गर्न जुट्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, बैठकले निर्वाचनका क्रममा तामाकोसी गाउँपालिकाको गोल्मेश्वर मावि, मालु मतदान केन्द्रमा मतपत्र लुट्ने, एजेन्टमाथि आक्रमण गर्ने र बुथ कब्जा गर्ने प्रयास भएको उल्लेख गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।
एमाले दोलखाले निर्वाचन परिणामलाई ‘जनताको मौन विद्रोह’को रूपमा व्याख्या गर्दै दल परिवर्तन नगरी मत परिवर्तन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनताको उक्त निर्णयलाई सम्मान गर्दै पुनः जनविश्वास आर्जन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै पार्टीभित्रैबाट असहयोग गर्ने वा षड्यन्त्र गर्ने व्यक्तिहरू पहिचान भएमा अभिलेखमा राखी समीक्षा गरिने चेतावनी दिइएको छ।
विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समेत धारणा सार्वजनिक गरिएको छ। मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र युद्ध रोक्न अपिल गर्दै विश्व शान्तिको पक्षमा उभिने बताइएको छ। खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ।
इन्धन मूल्यवृद्धि, ग्यास अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। साथै भूराजनीतिक प्रभावका कारण राष्ट्रियता र स्वाभिमानमा खतरा उत्पन्न भएको दाबी गर्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरिएको छ।
दोलखाको विकास र समृद्धिका लागि अन्य राजनीतिक दलहरूसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेले प्रतिपक्षको भूमिकामा रहेर पनि जिम्मेवार योगदान गर्ने जनाएको छ।
अन्त्यमा, पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ मा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै निर्वाचनमा सहयोग गर्ने नेता, कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीलाई धन्यवाद दिएको छ। साथै निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै देश, जनता र राष्ट्रियताको पक्षमा प्रतिबद्ध रहन आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्