रामेछाप । रामेछापकाे सुनापति गाउँपालिका–१ गुन्सीको दुर्गम बस्तीमा एक दिनका लागि सञ्चालन गरिएको निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरले स्थानीय बासिन्दाको जीवनमा आशा र राहतको सन्देश दिएको छ ।
जहाँ स्वास्थ्य सेवा पुग्न कठिन छ, त्यहीँ पुगेको यो शिविरले धेरैका स्वास्थ्य समस्या सुन्ने र समस्या समाधानको प्रयास गरेको छ। साथमा स्थानीयले सिंहदरबारको सरकार गाउँमा आएको अनुभूति पनि गरेका छन् ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको उक्त शिविरमा बिहानैदेखि स्थानीयहरूको लामो लाइन लागेको थियो । दिनभरि निरन्तर सेवा लिनेहरूको भीडले शिविरस्थल एउटा आशाको केन्द्र बनेको थियो । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोका अनुसार शिविरमा २ सय ७० जनाले सेवा लिनुभएको छ ।

बिहान ११ बजेदेखि साँझ ५ः३० बजेसम्म सञ्चालन भएको शिविरमा चिकित्सकहरूले बिरामीहरूको जाँच, परामर्श र निःशुल्क औषधि वितरण गर्नुभएको थियो । चिकित्सक उत्तम गैरेका अनुसार दिनभरि सेवा लिन आउनेहरूको चाप घटेन । उहाँले भन्नुभयो, ‘धेरैजसो बिरामी घुँडाको दुखाइ, ढाड दुख्ने, शरीर झमझमाउने र पोल्ने समस्याबाट पीडित हुनुहुन्थ्यो, जसले दैनिक जीवन नै कष्टकर बनाएको देखिन्थ्यो ।’
शिविरमा बच्चादेखि ज्येष्ठ नागरिकसम्म हुनुहुन्थ्यो, जसका अनुहारमा वर्षौँदेखिको पीडा र उपचार नपाएको पीडा देखिन्थ्यो । त्यस्तै ग्यास्ट्रिक, छालासम्बन्धी रोग, युरिक एसिड, उच्च रक्तचाप र मधुमेहका बिरामीहरू पनि उल्लेख्य सङ्ख्यामा देखिनुभएको थियो ।
शिविरमा वितरण गरिएका औषधिहरू वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयबाट प्राप्त सहयोग तथा विभिन्न औषधि कम्पनीहरूले चिकित्सालयलाई निःशुल्क रूपमा उपलब्ध गराएका थिए । ती औषधिहरूले धेरैका लागि राहतको सास बनेको अनुभव गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले दुर्गम बस्तीका नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउन सकुन् भन्ने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिविरमा प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, वडाध्यक्ष ध्रुव चौलागाईँ लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने गाउँपालिका स्वास्थ्य शाखा र स्वास्थ्य चौकी गुन्सीका स्वास्थ्यकर्मीहरूले सेवा प्रवाहमा सक्रिय सहयोग गर्नुभएको थियो ।

दुर्गम बस्तीमा पुगेको यो सानो प्रयासले धेरैका लागि ठुलो राहत दिएको छ-जहाँ उपचारसँगै सुखद जीवनका आशा पनि बाँडिएको छ । जहाँ एक दिनको शिविरले पनि जीवनमा नयाँ भरोसा जगाएको छ ।













प्रतिक्रिया दिनुहोस्