रामेछाप, चैत ८ । रामेछापकाे सुनापति गाउँपालिकाले महिलासँग स्थानीय सरकारको प्रत्यक्ष सम्बन्ध सुदृढ गर्ने उद्देश्यले सुत्केरी आमासँग घरमै पुगेर भेटघाट गर्ने नयाँ कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले ‘सुत्केरीसँग उपाध्यक्ष भेटघाट तथा कोसेली वितरण’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठका अनुसार कार्यविधि निर्माण गरेर यस वर्षदेखि औपचारिक रूपमा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिका उपाध्यक्षले स्वास्थ्यकर्मीको टोलीसहित सुत्केरी भएका महिलाहरूको घरमै पुगेर भेटघाट गर्नुहुनेछ । भेटका क्रममा सुत्केरी आमाको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सुझाव र परामर्श दिने तथा गाउँपालिकाको तर्फबाट कोसेली प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार यस कार्यक्रमले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधारमा टेवा पुर्याउने, साथै सुत्केरीलाई पोषणयुक्त आहारको महत्वबारे सचेत गराउने अपेक्षा गरिएको छ ।

कार्यक्रम अन्तर्गत सुत्केरीलाई कोसेली स्वरूप एक किलो घिउ, एक क्रेट अण्डा, एक लिटर खाने तेल, विभिन्न प्रकारका गेडागुडी, आयोडिनयुक्त नुन, शिशुका लागि नुहाउने साबुन, तेल र पाउडर तथा सुत्केरीका लागि भित्री वस्त्रहरू प्रदान गरिने व्यवस्था गरिएको छ ।
स्थानीय सरकार महिलाहरूको सुख–दुःखमा सधैँ साथमा रहेको सन्देश प्रवाह गर्न यो कार्यक्रम सुरु गरिएको गाउँपालिका उपाध्यक्ष गीत विष्टले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमले सुत्केरी अवस्थाका क्रममा महिलाहरूले भोग्नुपर्ने समस्या, पीडा तथा सम्भावित हिंसा न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यस वर्ष निर्वाचन आचारसंहिताका कारण घरघरमा पुग्ने कार्य प्रभावित भए पनि अब सुत्केरी भएको १४ दिनभित्र स्वास्थ्यकर्मी सहित उपाध्यक्ष स्वयं घरमै पुगेर कोसेली प्रदान गर्ने व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ ।
साे कार्यक्रम अन्तर्गत वडा नं १ गुन्सीमा यस वर्ष सुत्केरी भएका महिलालाई काेसेली वितरण गरिएकाे छ । गुन्सी स्वास्थ्य चाैकीमा आयाेजित कार्यक्रममा वडाध्यक्ष ध्रुव चाैलागाईँ लगायतका जनप्रतिनिध, स्वास्थ्यकर्मी लगायतकाे सहभागिता थियाे ।













प्रतिक्रिया दिनुहोस्