जनता टाइम्स

८ चैत्र २०८२, आईतवार १५:०२

अन्तरघातले चुनाव हारियाे : कांग्रेस 


काठमाडौं, चैत ८। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको मुख्य कारण आन्तरिक समस्या रहेको प्रारम्भिक निचोड निकालेको जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले घात–अन्तर्घातका कारण २१ निर्वाचन क्षेत्रमा हार व्यहोर्नुपरेको जानकारी दिनुभयो ।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकको बीचमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पराजित अधिकांश क्षेत्रको मतान्तर विश्लेषण गर्दा आन्तरिक कारण नै प्रमुख देखिएको बताउनुभयो । उहाँका अनुसार ५ भोटदेखि ३ हजारसम्मको मतान्तरले हारिएका २१ क्षेत्र रहेका छन् ।

३ हजारदेखि ५ हजारसम्म मतान्तर भएका क्षेत्रमा समेत अन्तर्घातका साथै चुनावी अभियान सञ्चालन प्रक्रियामा कमजोरी भएको प्रारम्भिक निष्कर्ष रहेको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी ५ हजारदेखि १० हजार तथा सोभन्दा माथिको ठूलो मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक कारण, अभियानको कमजोरी र ‘न्यारेटिभ’ प्रभावकारी हुन नसकेको विश्लेषण पार्टीले गरेको छ । कतिपय क्षेत्रमा जनताको विश्वासमा नै प्रश्न उठेको हो कि भन्ने विषयमा समेत गम्भीर छलफल भइरहेको पार्टीले जनाएकाे छ ।

प्रवक्ता चालिसेले क्रियाशील सदस्य संख्या बढ्दै गए पनि मत घट्दै गएको अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयाे। उहाँले साढे ८ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एउटा घरमा ४ जना सदस्यको हिसाब गर्दा पनि ३३ लाख भन्दाबढी मत आउनु पर्ने बताउनुभयाे ।  ‘किन १७ लाख मात्र मत आयो ?’, उहाँकाे प्रश्न छ ।

निर्वाचन परिणामबारे पार्टीभित्र प्रस्तुत भएका प्रतिवेदन तथा जिल्लाबाट आएका विवरणलाई एकीकृत गरेर सूक्ष्म अध्ययनपछि मात्रै अन्तिम निष्कर्षमा पुगिने उहाँले जानकारी दिनुभयो ।