जनता टाइम्स

८ चैत्र २०८२, आईतवार १५:२०

कांग्रेसभित्र पुनः लफडा : देउवा समूहद्वारा पुरानो कार्यसमिति ब्युँताउने प्रयास


काठमाडौं, चैत ८ । नेपाली कांग्रेसभित्र पुनः लफडा सुरु भएकाे छ ।

पार्टीकाे शेरबहादुर देउवा समूहअन्तर्गत कार्यसम्पादन समितिको बैठक बसेर विशेष महाधिवेशन अघिकै देउवा नेतृत्वको कार्यसमितिलाई पुनः सक्रिय बनाउने प्रयास सुरु गरिएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको उक्त बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

कांग्रेस नेता मीन विश्वकर्माले सर्वोच्च अदालतमा विचाराधीन रहेको पार्टी आधिकारिकताको मुद्दा टुंगो नलागेसम्म आफूहरूका तर्फबाट कमिटीका बैठक तथा छलफल जारी रहने बताउनुभयो । उहाँका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवाद हाल अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ । केन्द्रीय कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरूको बैठकले केन्द्रीय समितिमार्फत निर्वाचन समीक्षा गर्दै आगामी रणनीति तय गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह तथा बालकृष्ण खाणलगायत नेताहरूको सहभागिता रहेको बुझिएको छ । पार्टीभित्रको यस घटनाक्रमले कांग्रेसलाई थप विवादतर्फ धकेल्ने संकेत देखिएको छ ।