काठमाडौं, चैत ८ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामलाई लिएर नैतिक रूपमा उहाँले दिएको राजीनामा कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो । बैठकले राजीनामा अस्वीकार गर्नुका विभिन्न आधारसमेत प्रस्तुत गरेको छ। जसअनुसार निर्वाचनमा भएको पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको निष्कर्ष निकालिएको छ।
त्यस्तै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति गरिएको बैठकको ठहर छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहने भएकाले पनि अस्वीकार गरिएको जनाइएको छ।
बैठकले राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएको उल्लेख गर्दै यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको जनाएको छ। साथै, सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताका आधारमा पनि यस्तो निर्णय गरिएको स्पष्ट पारिएको छ।
विशेष महाधिवेशन पश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रमलाई निरन्तरता दिन पनि नेतृत्वको निरन्तरता आवश्यक रहेको बैठकको निष्कर्ष छ।
पार्टीको विशेष महाधिवेशन मार्फत पार्टी सभापति शेरबहादुर देउवालाई अपदस्त गरेर थापा सभापति बन्नु भएको थियो । बदलियाे कांग्रेसकाे नारा दिएर पार्टी सभापति हुनुभएका थापा नेतृत्वमा चुनावमा गएको कांग्रेसले सर्मनाक हार बेहोरे पछि थापाले राजीनामा दिनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्